प्रतिनिधि सभाको दोस्रो ठूलो दल नेकपा (एमाले) ले आमनिर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनेको भन्दै उत्सव मनाउने भएको छ।
कमलादीस्थित प्रज्ञा भवनमा मंगलबार विशेष कार्यक्रम आयोजना गरी एमालेले उत्सव मनाउन लागेको हो।
‘मंगलबार दिउँसो आयोजना गरिने कार्यक्रमका लागि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई निम्तो दिइएको छ’ समानुपातिकबाट निर्वाचित सांसद एवम् एमाले स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘मैले पनि म्यासेजमार्फत् निम्तो पाएको छु।’
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार जनताको रोजाइको सबैभन्दा ठूलो पार्टी बनेको उपलक्ष्यमा उक्त कार्यक्रम गर्न लागिएको हो। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहनेछन्।
‘पार्टीको तर्फबाट नवनिर्वाचित सांसदहरुलाई बधाई र जनताको रोजाईको ठूलो पार्टी बनेको खुसीयालीमा मतदातालाई धन्यवादसमेत दिने गरी कार्यक्रम गरिएको हो’ डा. अधिकारीले भने, ‘कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ।’
मंसिर ४ को निर्वाचनमा एमालेले समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको थियो। उसले समानुपातिकतर्फ ३४ सिट जितेको छ।
तर समग्र निर्वाचन परिणाममा भने एमाले कांग्रेसपछि दोस्रो बनेको छ। २०७४ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमाले पहिलो दल बनेको थियो।
Shares
प्रतिक्रिया