उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा जान तीनवटा शर्त पूरा हुनुपर्ने जनाएको छ।
राजधानी काठमाडौंमा दुई दिनसम्म बसेको जसपा नेपालको राजनीतिक समितिको बैठकले गठबन्धन सरकारमा जान तीनवटा शर्त पूरा हुनुपर्ने अडान लिएको छ।
यसअघि नै गठबन्धन सरकारलाई समर्थन दिइसकेको जसपाले दलको नेतामा रामसहायप्रसाद यादवलाई चयन गरिसकेको छ।
उसले तीनवटा शर्त पूरा नभए सरकारमा सहभागी नहुने निर्णय गर्दै सरकारलाई दिएको समर्थन भने यथावत राखिने जनाएको छ।
जसपाले पहिलो शर्तका रुपमा संघीयताविरोधी, गणतन्त्रविरोधी, धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने, राजनीतिक विचार र सिद्धान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको ठहर पनि गरेको छ।
उसले अहिलेको अवस्थामा जसपाका यी मूलभुत सिद्धान्तहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकुल हुने गरी सरकारको न्युनतम् साझा नीति तथा कार्यक्रम आएमा सरकारमा नजाने अडान लिएको छ।
त्यसैगरी दोस्रो शर्तमा जसपाले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा नजाने अडान लिएको छ।
जसपा प्रवक्ता मनिष सुमनका अनुसार तेस्रो शर्तका रुपमा शक्ति बाँडफाँट रहेको छ।
‘हामीले संघदेखि प्रदेशसम्म शक्ति बाँडफाँड सम्मानजनक हुनुपर्ने अडान लिएका छौँ’, उनले भने, ‘गठबन्धनमा रहँदा सम्मानजनक भागवण्डा लागेमा सरकारमा जान समस्या हुँदैन।’
जसपाले गठबन्धन सरकारमा जाँदा मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो हुनुपर्ने अडान लिइरहेको छ। एमाले र माओवादी नेतृत्वले पनि मधेशमा जसपा र जनमतलाई सरकारको नेतृत्व छाड्ने सैद्धान्तिक सहमति गरेका छन्।
Shares
प्रतिक्रिया