प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध विरोधी दलहरुबाट भन्दा आफ्नै दलका नेता कार्यकर्ताबाट भएको भन्दै आश्चर्य व्यक्त गरेका छन्।
शनिबार प्रेस संगठन पदाधिकारी तथा केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी र सरकारले गरेका राम्रा कामको प्रचार गर्न छाडेर आलोचना मात्रै गर्ने प्रवृत्ति हुर्कँदै गएको बताए। उनले विरोधीहरुले बोल्नै नसक्नेगरी पार्टीलाई बलियो बनाएपछि आफ्नैबाट आलोचना सुरु भएको बताए।
‘पार्टीको नेता भएर पार्टीकै सफलतामा बोल्न नसक्ने, पार्टीको नेतृत्वमा रहेको सरकारका सफलतामा बोल्न नकस्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्ँदैन,’ नेकपाका अध्यक्ष समेत रहेका ओलीले भने, ‘कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन।’
कार्यक्रमको अधिकांश समय पार्टीभित्रको आफ्ना आलोचकहरुको विरोधमा खर्चिएका प्रधानमन्त्री ओलीले विरोधीभन्दा अगाडि बढेर विरोध गर्ने प्रवृत्ति पार्टीका लागि घातक भएको बताए।
उनले प्रदेश २ मा राजापासँग सहमति गरेर नेकपाले सांसदनै नभएको ठाउँमा दुईवटा लिएको दावी गर्दै सहमतिको बचाउ गरे। त्यस्तै निरंकुशताको अन्त्य, संविधान निर्माण, नकाबन्दी हटाउनु आदिमा सफलता पाएको समेत दावी गरे।
नयाँ नयाँ कवि जन्मिए
प्रधानमन्त्री ओलीले पछिल्लो समय पार्टी नेतृत्वको कडा आलोचनामा उत्रिएका स्थायी समिति सदस्य भीम रावलमाथि कडा व्यंग्य गरेका छन्।
स्थायी समितिमा रावलले राजपा र नेकपाको दुईबुँदे राजनीतिक सहमतिलाई लिएर स्थायी समितिमा ‘धुँवाले छोपिँदै दियो’ शीर्षकको कविता सुनाएका थिए। सोही कवितालाई ओलीले लिएर रावलमाथि व्यंग्य गरेका हुन। उनले भने, बालुवाटारबाट कालो धुँवाको मुस्लो निस्किएको ‘।कविहरु पनि नयाँ–नयाँ खालका निस्किए । अचम्म अचम्मका कविता ।’
प्रतिक्रिया