प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा चाहना राखिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘कन्भिन्स’ गर्न जुटेका छन्।
उनलाई यही कार्यकालमा एक वर्षका लागि सरकारको नेतृत्व दिएर राष्ट्रपतिमा नेपाली कांग्रेसले अघि सार्ने उम्मेदवारलाई सघाउने वातावरण निर्माण गर्न उनी अध्यक्ष नेपाललाई ‘कन्भिन्स’ मा लागेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार तीन घण्टा चलेको पुरानो गठबन्धन दलहरुको छलफलमा नेपालले नेपाली राजनीतिमा आफ्नो योगदानबारे धारणा राखेपछि प्रचण्डले ‘कन्भिन्स’ गर्ने ढंगमा कुरा गरेको बैठकमा सहभागी स्रोतले जनाएको छ।
‘कांग्रेसले खासै आफ्नो कुरा गरेन। नेपालले आफ्नो योगदानबारे कुरा गर्नुभयो,’ बैठकमा सहभागी कांग्रेसका एक शीर्ष नेताले भने, ‘त्यसपछि प्रधानमन्त्रीले उहाँलाई कन्भिन्स गर्ने ढंगबाट कुरा गर्नुभयो।’
ती नेताले बैठकमा एकीकृत समाजवादीका अधयक्ष नेपाललाई एक वर्ष सरकारको नेतृत्व गर्न दिने ढंगको छलफल भएको पनि बताए।
‘माधवकुमार नेपाललाई एक वर्ष सरकार सञ्चालन गर्न दिने ढंगले कुरा भएको छ बालुवाटारमा,’ उनले भने।
अध्यक्ष नेपाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा अघि सार्ने प्रस्ताव गरेका थिए।
गत शनिबार नयाँबानेश्वरमा भएको चार घण्टा लामो भेटवार्तामा ओलीले उनलाई राष्ट्रपति बनेर जान भनेका थिए।
त्यस्तै ओलीले दुई दिनअघि बालुवाटारमा प्रचण्डसँगको वार्तामा पनि नेपाललाई राष्ट्रपतिका रुपमा अघि सारेका थिए।
यही आइतवार धुम्बाराही पुगेका अध्यक्ष नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्ष प्रधानमन्त्री बनेर अघि बढ्न प्रस्ताव गरेका थिए।
ती नेताले शुक्रबार बेलुकी ६ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उनमुक्ति पार्टीसहित चार दलको छलफल हुने पनि जानकारी दिए। उनले बेलुकी ५ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच फेरि छलफल हुने पनि बताए।
बैठक पछि कांग्रेसका महामन्त्री गगन थापाले बालुवाटार बैठकमा सकारात्मक छलफल भएको र बेलुकी ५ बजे फेरि आफूहरु बैठक बस्ने जानकारी दिएका थिए।
‘राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसले माओवादी, समाजवादी र जसपासँग पनि छलफल गरिरहेको छ। अन्य दलहरु पनि छलफलमा छन्,’ उनले भने, ‘अहिले बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर छलफल गर्यौँ। विभिन्न विकल्पमा छलफल भएको छ। सकारात्मक दिशामा छलफल भइरहेको छ। अहिले आ–आफ्नो दलभित्र छलफल गर्ने गरी उठेका छौँ, फेरि ५ बजे बस्ने छौँ।’
Shares
प्रतिक्रिया