नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो. अब्दुल खान छन्।
समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे छन्।
पौडेललाई सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। उनलाई शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो।
बैठकपछि नेता पौडेलले कांग्रेसको मात्र नभई सबै राजनीतिक दलले आफूमाथि सद्भाव राखेको प्रतिक्रिया दिएका थिए।
‘कांग्रेसले मात्र होइन, सबै पार्टीले ममाथि सद्भाव राखेका छन्। नेपालको राजनीतिक जगतले ममाथि सद्भाव राखेका छन्,’ उनले भने, ‘सबै दलका संसदमा रहेका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका साथीहरुको सद्भाव मैले पाएको छु।’
पौडेलले संविधान, राष्ट्रियताको संरक्षण र नेपाली जनताको रेखदेख गर्ने अधिकार र जिम्मेवारी पनि आफूलाई आउन लागेको बताए।
‘नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियताको संरक्षण र नेपाली जनताको रेखदेख गर्ने अधिकार र जिम्मेवारी मलाई आउन लागेको छ,’ उनले भने, ‘म सबै नेपाली दाजुभाइ दिदिबहिनीलाई अनुरोध गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्र र संविधानको रक्षा गरौं। ७० वर्षसम्म संघर्ष गरेर प्राप्त गरेको व्यवस्थाको महत्व धेरै छ। यसमाथि खेलवाड गर्नेप्रति सबै नेपाली सजग हुनुपर्छ।’
गएको मंसिर ४ मा सम्पन्न आम निर्वाचनपछि कांग्रेस र माओवादी मिलेर सरकार बनाउनु पर्ने बताउँदै आएका पौडेलले नेकपा एमाले र माओवादीबीच प्रधानमन्त्री आधा–आधा कार्यकाल र राष्ट्रपति एमालेले पुरै कार्यकाल लिने गरी गत पुस १० गते सहमति भएपछि ‘प्रचण्डबाट कांग्रेसलाई नभई, कांग्रसले प्रचण्डलाई धोका दिएको’ टिप्पणी गरेका थिए।
तत्कालीन समयमा उनी प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिएर पनि चुनावी गठबन्धन जोगाउनु पर्ने पक्षमा देखिएका थिए। पुस १० मा टुटेको तत्कालीन ५ दलीय गठबन्धन ब्युँताउन पौडेलले राजनीतिक कौशल प्रदर्शन गरेका छन्।
२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लगेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए। १२ औं महाधिवेशनबाट उपसभापति बनेका पौडेलले कार्यवाहक सभापतिको हैसियतमा २०७२ सालमा पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेका थिए।
पौडेलले राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म अनेक पटक गरी झण्डै १५ वर्ष जेल जीवन बिताएका छन्। उनी पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रिँदा गिरफ्तार भएर जेल परेका थिए।
उनी कीर्तिपुर विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोधमा कार्यक्रम गर्दा गिरफ्तार भएर २०२८ बाट २०३२ सम्म जेल परेका थिए।
पौडेल २०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधि सभा तथा संविधान सभा सदस्य निर्वाचित भइसकेका छन्। उनले स्थानीय विकासमन्त्री, कृषि तथा सहकारीमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री, सञ्चारमन्त्री, जलस्रोत, शिक्षामन्त्री र उपप्रधान तथा शान्ति पुनःनिर्माणमन्त्री भएर सरकार सञ्चालनको अनुभव बटुलिसकेका छन्।
प्रतिनिधिसभाका पूर्वसभामुखसमेत रहेका पौडेल मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भइसकेका छन्।
उनका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जनबढी पुस्तक र विभिन्न विषयमा नेपालको राष्ट्रिय, साप्ताहिक तथा अनलाइन मिडियाहरूमा समसामयिक लेखहरु प्रकाशित छन्।
तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैं मध्यस्थता गरेकाले उनलाई कांगे्रसभित्र मध्यमार्गी नेताका रुपमा चिनिन्छ।
सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका पनि निभाएका थिए। उनी १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार मध्येमा पनि पर्दछन्।
पौडेल ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्रधार पनि मानिन्छन्।
पार्टी र सरकार दुवैतर्फ सर्वोच्च नेतृत्वमा पुग्न भने उनी असफल रहँदै आएका थिए। ०६७ सालमा प्रधानमन्त्रीका लागि उनले १७ पटक प्रतिस्पर्धा गरे। तर, सो पदमा उनी पुग्न सफल भएनन्। त्यस्तै पार्टी सभापतिको चुनाव पनि उनले हारे। त्यसैले कतिपयले उनलाई असफल नेताका रुपमा लिने गरेका थिए। तर, राजनीतिक जीवनको उत्तरार्धमा उनका लागि राष्ट्रप्रमुख पदको ढोका खुलेको छ।
२००१ असोज २९ गते तनहुँको मिलुङ्, बाहुनपोखरा (हालको व्यास नगरपालिका–८) मा आमा ऋषिमाया र बुबा दुर्गाप्रसादको कोखबाट मध्यमवर्गीय किसान परिवारमा जन्म भएको थियो। सविता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका पौडेलका तीन छोरी र एक छोरा छन्।
तनहुँको व्यास नपा–२ अमरापुरी बसोबास भएका नेता पौडेल काठमाडौँको बोहराटारमा बस्दै आएका छन्। उनले नेपाली साहित्यमा स्नाताकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन्
Shares
प्रतिक्रिया