‘चुनाव आयो भन्या मात्तै नआउनू। यसैगरी, आउनाइरह्या पार्टी बलियो हुँदो छ। हाम्मा दुःख तमी सुनौला, तम्मा कुणा हामी सुनौँला।’
यो सुझाव मिसन ग्रासरुटअन्तर्गत जुम्लाको चन्दननाथ नागरपालिका–६, छिनामा पुग्दा नेकपा एमालेका नेताहरुलाई स्थानीय लालकोरा सुवर्णकारले दिएकी हुन्।
चुनावका बेला मात्रै नेता–कार्यकर्ता गाउँघरमा आउने रोग नै लागेको बताउँदै उनले यसपटक चाहिँ एमालेले चुनाव नभएका बेला पनि मिसन ग्रासरुट अभियान ल्याएर आएकोमा खुसी व्यक्त गरिन्।
सोमबार बिहान आयोजित वडास्तरीय कार्यक्रममा जम्मा भएका वडाका कार्यकर्ताले जिल्ला र प्रदेशका नेताहरुलाई फोन गरेको बेला उठाउन, सुख–दुःखमा साथ दिन, बेलाबेलामा गाउँघरमा छिर्न र कमिटीका बैठकहरु नियमित बसाउन सुझाव दिए।
‘हिजो हामी कोही कता भयौँ, कोही कता भयौँ। पार्टी विभाजन भयो। हामी पनि विभाजित भयौँ। अब सबैको होस खुलेको छ। आत्मालोचना गरौँ र पार्टीलाई फेरि बलियो बनाउने गरी अघि बढौँ‘, वडा नम्बर ६ कै श्रीराम सुनारले सुझाव दिए।
एमालेले अघि सारेका कार्यक्रमको जनतामाझ प्रचार हुन नसकेकाले त्यसको लाभ विपक्षीले लिएको कार्यकर्ताहरुको अनुभव छ।
‘सधैँभरि ०५१ सालमा बृद्धभत्ता ल्यायौँ, आफ्नो गाउँ आफैँ बनायौ्ँ भनेर मात्र भएन‘, रतन रोकायले सुझाव दिए, ‘त्यसपछि हामीले ल्याएका नयाँ–नयाँ कार्यक्रमहरुका बारेमा जनतालाई बुझाउनुपर्यो।’
कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधिका रुपमा जुम्लामा खटिएका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कार्यकर्ताका यस्तै गुनासा सुन्न र अन्तक्रिया गर्न पार्टीले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको उल्लेख गरे।
उनले भने, ‘हामीसँग चामल छ, हामीले विक्री गर्न सकिरहेका छैनौ्ँ। अरुले होहल्ला गरेर पिठो बेचिरहेका छन्।‘ उनले कार्यकर्तालाई क्रियाशील हुन आग्रह गर्दै भने, ‘कार्यकर्ता पंक्ति बलियो भए मात्र पार्टी बलियो हुने भएकाले तपाईंहरु गाउँगाउँमा खट्नुपर्छ। हामी त्यही काममा उत्प्रेरित गर्नका लागि आएका छौँ।’
गरिब, दुर्गम, दलित र पिछडिएकाहरुका लागि नेकपा (एमाले) सहाराका रुपमा रहेको रिजालले उल्लेख गरे।
‘एकातिर दूरदराजका गाउँवस्तीका समस्या समधान गर्नका लागि बाटोघटो, पुलपुलेसा, बत्ती, विद्यालय, कुलो जस्ना काममा ध्यान केन्द्रित गर्नुछ भने अर्कातिर मुलुकलाई विकसित बनाउन ठूल्ठूला परियोजनाहरु अघि नबढाई सुखै छैन’, उनले भने, 'त्यही भएर हाम्रा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा अघि ल्याएका हौँ। हामीलाई घेराबन्दी गरेर सरकारमा जानबाट रोके पनि जनताको बलमा हामी सरकारमा जानेछौँ र यसलाई सफल पारेरै छाड्नेछौँ।’
वडा कमिटीका अध्यक्ष साजन सुवर्णकारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष शान्तिलाल महले पनि बोलेका थिए।
कार्यक्रममा कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्यद्वय धीरेन्द्रराज गिरी र गोर्ख पछाई, प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, प्रदेश प्रतिनिधि भीम थापा, जिल्ला कमिटी सदस्यहरु कमल महत, रामबहादुर रावत, दानबहादुर रावलगायतको उपस्थिति थियो।
वडाभित्रका सदस्यहरुको नवीकरण र नयाँ सदस्यता विस्तारका लागि कार्ययोजना पारित गरिएको छ।
Shares
प्रतिक्रिया