भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले नेपालको राजनीतिक वृत्तमा कम्पन पैदा गरेको छ। दल स्थापनाको वर्ष दिन पूरा नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अकल्पनीय जित निकालेपछि मूलधारका दलहरुमा संशय उत्पन्न भएको छ।
उपनिर्वाचन भएका तीनमध्ये दुई क्षेत्रमा रास्वपाले लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसलाई भारी मतान्तरले पराजित गरेको छ। उसले कांग्रेसबाटै राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलकै आँगन तनहुँ–१ र चितवन–२ मा जित निकालेको छ।
उपनिर्वाचनको नतिजाले सरकार निर्माणदेखि राजनीतिक समीकरणको जोड–घटाउमा ठूलो प्रभाव नपारे पनि जनमतमार्फत् आएको सन्देशले मूलधारका दलहरु डगमगाएका छन्। यसको सबैभन्दा ठूलो प्रभाव नेपालको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा परेको छ।
नेतृत्वमाथि गम्भीर आरोप लगाएर पार्टी परित्याग गरेको २५ दिनमै अर्थविद् डा. स्वर्णिम वाग्ले नयाँ दलबाट निर्वाचित भएपछि रास्वपालाई कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ताहरुले रोज्ने विकल्पका रुपमा हेर्न थालिएको छ।
यद्यपि, राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आदर्श मानेको कांग्रेसको जसरी रास्वपाको पार्टी विधानमा वैचारिक र सैद्धान्तिक धरातल प्रस्ट छैन। तर, कांग्रेसबाटै राजनीति सुरु गरेका डा. स्वर्णिम वाग्ले, मनिष झा रास्वपाका सांसद भएका कारण उक्त दललाई कांग्रेसका मतदाताका लागि विकल्पका रुपमा हेरिन थालिएको छ।
वाग्ले र झाले रास्वपामा प्रवेश गर्नुअघि कांग्रेसमा अनेक जिम्मेवारी सम्हालिसकेका छन्। वाग्ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि र झा स्थानीय तह निर्वाचनका लागि कांग्रेसले गठन गरेको घोषणा पत्र तयारी समितिमा थिए।
कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको घोषणा पत्र मस्यौदा गर्न वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरिएको थियो। जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल सदस्य थिए। समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्मा थिए।
यस्तै अर्का महामन्त्री गगन थापाको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिमा झा सदस्य थिए। उक्त निर्वाचनमा घोषणा पत्र लेख्नुका साथै झाले कांग्रेसको पक्षमा मत माग्दै प्रचार गरेका थिए।
पार्टीको नीति निर्माणमा भूमिका निर्वाह गर्दै आएका कांग्रेसनिकट बौद्धिक ब्यक्तित्त्व गेजा शर्मा वाग्ले लोकतान्त्रिक पृष्ठभूमिका नेताहरुको उपस्थिति उल्लेखनीय भएकाले वैचारिक र सैद्धान्तिक धरातल प्रस्ट नहुँदा पनि रास्वपा कांग्रेसको विकल्प हुन सक्ने भाष्य रास्वपाका नेताहरुले बनाउन खोजेको बताउँछन्।
‘रास्वपाको वैचारिक र सैद्धान्तिक धरातल र पार्टीको मार्गनिर्देशक सिद्धान्त के हुन्छ भन्ने कुरा स्पष्ट छैन,’ उनी भन्छन्, ‘तथापि, स्वर्णिम वाग्लेजीलगायत लोकतान्त्रिक पृष्ठभूमिका नेताहरुको उपस्थिति रास्वपामा उल्लेखनीय भएका कारण कांग्रेसको विकल्पमा हुन्छ र हुन सक्छ भन्ने न्यारेटिभ अहिले बनाउन खोजेको देखिन्छ।’
तर, वाग्लेले रास्वपाका नेताहरूले लोकतन्त्रप्रति प्रतिबद्धता जनाउदै संविधानलाई पूर्णरूपमा नस्वीकारे पनि गणतन्त्र, संघीयता, आर्थिक नीति, विदेश नीति, समावेशीकरण जस्ता विषयमा नेतृत्वपंक्तिबाट अन्तर्विरोधपूर्ण धारणा सार्वजनिक भएको कारणले रास्वपा कांग्रेसको विकल्पमा अर्को लोकतान्त्रिक पार्टीको रुपमा स्थापित हुने सम्भावनाको धरातल कमजोर भएकाले अहिले नै निष्कर्षमा पुग्ने बेला भइनसकेको बताउँछन्।
‘रास्वपाको वैचारिक र सैद्धान्तिक आधार के हुन्छ र यो कांग्रेसको विकल्पको रुपमा स्थापित हुन्छ कि हुन्न भन्नेबारे अहिले नै निष्कर्षमा पुग्ने बेला भइसकेको छैन,’ उनी भन्छन्।
रास्वपाले अनुशरण गर्ने सिद्धान्त र विचारको आधारमा मात्रै निष्कर्षमा पुग्नुपर्ने वाग्लेको भनाइ छ।
वाग्ले प्रश्न गर्छन्, ‘रास्वपाको सैद्धान्तिक, वैचारिक तथा वर्गीय आधार के हो? रास्वपाको पार्टी संचालन प्रणाली के हुन्छ? आन्तरिक लोकतन्त्र कस्तो हुन्छ? निर्णय प्रक्रिया कस्तो हुन्छ? रास्वपा विधिसम्मत र विधानसम्मत रुपमा संचालित हुन्छ कि नेतृत्वको लहड र स्वार्थको आधारमा ? रास्वपा पार्टी र पार्टी निर्माण प्रक्रियाको बारेमा उत्तर भन्दा प्रश्नहरू धेरै छन्। अन्य पार्टीहरू जस्तै रास्वपा पनि प्रश्नहरूको घेरामा छ।’
कांग्रेस नेता गुरु घिमिरे पनि रास्वपालाई लोकतान्त्रिक विचार बोकेको पुरानो पार्टीको विकल्पका रुपमा हेरेर पूर्वानुमान गर्नु हतार हुने बताउँछन्।
‘चुनाव जित्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीबारे पूर्वानुमान गर्नु हतार हुन्छ,’ उनको भनाइ छ, ‘यो समयक्रममा प्रमाणित हुने कुरा हो। ४–५ वर्षको भूमिका हेरेर भन्न सकिन्छ। अहिले नै विकल्प भन्न हतार हुन्छ।’
जनतामाझ देखिने गरी, सुनिने गरी र बुझिने गरी कार्ययोजना बनाएर पार्टी सञ्चालन गरेर अगाडि बढे रास्वपा लोकतान्त्रवादी नेता–कार्यकर्ताहरुका लागि विकल्पका रुपमा आउन सक्ने सम्भावना भने रहेको घिमिरेको भनाइ छ।
‘रास्वपाले आफ्नो ठाउँ बनाएर जनभावनाअनुसार चल्दै गयो, देखिने गरी, सुनिने गरी र बुझिने गरी वर्किङ स्टाइल (कार्यशैली), वर्किङ फरफमेन्स (कार्यसम्पादन) गर्दै गयो भने सम्भावना रहन्छ,’ घिमिरे भन्छन्, ‘डेमोक्रेटिकले अर्को डेमाक्रेटिक पार्टी खोजिहाल्छ।’
कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल तीन जिल्लामा भएको उपनिर्वाचनको परिणामले निष्कर्ष निकाल्न नसकिए पनि रास्वपा कांग्रेसको विकल्पका रुपमा देखिने संकेत परिणामले देखाएको बताउँछन्। रास्वपाको उदयसँगै नेपालमा लोकतान्त्रिक दलका रुपमा अर्को पसल खुलेको उनको भनाइ छ।
‘तीन क्षेत्रको चुनावले निष्कर्ष नै निकाल्न सकिन्न। कांग्रेसजस्तै अर्को पार्टी हुने, बन्ने सम्भावनाको संकेत देखिन्छ,’ नेता पोखरेल भन्छन्, ‘एक अर्को डेमोक्रेटिक पसल खुल्ने भयो। नेपालमा धरै वामपन्थी दलहरु भएजस्तो अर्को लोकतान्त्रिक पार्टी पनि हुने भयो।’
यस्ता छन् कांग्रेस र रास्वपाका आदर्श र उदेश्य (विधानअनुसार) :
कांग्रेसको आदर्श
राष्ट्रियता, लोकतन्त्र र समाजवाद।
रास्वपाको दर्शन र प्रतिबद्धता
(क) विधिको शासन
(ख) सामाजिक न्यायसहितको समानता
(ग) योग्यता र कर्मशीलता
(घ) राष्ट्र निर्माणमा समर्पण
(ङ) भ्रष्टाचारप्रति शून्यसहनशीलता
(च) प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र
(छ) व्यक्तिगत स्वतन्त्रता र मानव अधिकार
कांग्रेसको उदेश्य :
राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक एवं धार्मिक अधिकार र वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गर्दै, नागरिकको सुरक्षा, संरक्षण र समान अवसर उपलब्ध गराउन, न्यायपूर्ण, समतामूलक, गतिशील र शान्तिपूर्ण लोकतान्त्रिक समाज निर्माण गरी सम्पन्न नागरिक र समुन्नत राष्ट्र निर्माण गर्दै राजनीतिक, सामाजिक तथा आर्थिक विकासको लक्ष्य पूरा गर्ने र विश्वशान्ति एवं भ्रातृत्व कायम गर्दै विश्वसामु नेपाललाई अखण्ड, सम्पन्न र स्वाभिमानी राष्ट्रका रुपमा परिचित गराउने नेपाली कांग्रेसको उदेश्य हुनेछ।
रास्वपाको उदेश्य :
१) राजनीतिक सुदृढीकरण अभियानबाट राजनीतिलाई सुसज्जित, सुसंस्कृत र जवाफदेही बनाई सुशासन र अग्रगामी परिर्वतन गर्ने।
२) पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ र प्रत्यक्ष सहभागितामूलक बनाई राज्यमा लोकतान्त्रिक व्यवस्थालाई प्रवद्र्धन गर्ने।
३) जनताले महसुस गर्ने गरी दीगो विकास गरी नेपाललाई समृद्ध, विकसित र शान्तिपूर्ण राष्ट्र बनाउने।
४) नेपाललाई विश्व शान्ति क्षेत्रको रुपमा स्थापित गराउने।
५) गौरवमय नेपाली इतिहास, नेपाली सुसंस्कार राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय प्रतिष्ठा र नेपालको सर्वभौमिकताको रक्षा एवम् प्रवर्द्धन गर्ने।
६) व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार, नागरिकको आत्मसम्मान, नागरिक सुरक्षा, नागरिक समृद्धि र समानतालाई व्यवहारमा स्थापित गर्ने।
७) विकास र वातावरणबीच समुचित सन्तुलन मिलाई सम्पूर्ण वन्यजन्तु, वनस्पति, रुख, वनलगायत प्राकृतिक पर्यावरणीय सम्पदाको संरक्षण गर्दै स्वच्छ र सफा वातावरण बनाउने।
Shares
प्रतिक्रिया