राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवाद’को विरुद्धमा मेची महाकाली अभियान सञ्चालन गर्ने भएको छ।
देशमा अमेरिकी हस्तक्षेप बढेको ठहर गर्दै जनमोर्चाले जेठ १ गतेदेखि १५ सम्म सो अभियान सञ्चालन गर्ने जनाएको हो।
सोमबार जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले प्रेस वक्तव्य प्रकाशित गरी अभियानको तालिका सार्वजनिक गरेकी छन्।
जेठ १ गतेदेखि एकैपटक कञ्चनपुर र बागलुङबाट सुरु हुने उक्त अभियानको प्रत्येक टोलीमा दुई दुईओटा टोली रहने वक्तव्यमा उल्लेख छ।
कञ्चनपुरदेखि सुर्खेतसम्म सञ्चालित टोलीको नेतृत्व महासचिव मनोज भट्टले गर्नेछन् भने दाङदेखि बुटवलसम्म सञ्चालन हुने टोलीको नेतृत्व उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले गर्नेछिन्।
त्यस्तै, पूर्वी टोलीमध्ये बागलुङदेखि मकवानपुरसम्म चल्ने टोलीको नेतृत्व कार्यकारी अध्यक्ष रश्मिराज नेपाली र बारादेखि काठमाडौँसम्म चल्ने अभियान टोलीको नेतृत्व केन्द्रीय सचिव हिमलाल पुरीले गर्नेछन्।
दुवै टोलीको समापन जेठ १५ गते बुटवल र काठमाडौँमा हुने छ। त्यस क्रममा पश्चिमिको टोली कञ्चनपुरबाट बुटवलमा र पूर्वी टोली बागलुङबाट काठमाडौँमा आइपुग्ने छ।
अभियानको क्रममा मूलतः पत्रकार सम्मेलन, सभा र सांस्कृतिक कार्यक्रम गर्ने जानकारी दिइएको छ।
Shares
प्रतिक्रिया