ad ad

राजनीति


नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी एमालेबाट निलम्बन

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी एमालेबाट निलम्बन

नेपालखबर
बैशाख २७, २०८० बुधबार १४:०, काठमाडौँ

नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ। 

पार्टीका महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गरी पार्टीबाट निलम्बन गरेको जानकारी दिएका हुन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। हामी विधिको शासनमा विश्वास गर्दछौँ। राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैकाबारे कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ’, महासचिव पोखरेलले भनेका छन्, ‘सोही मान्यताअनुरूप पक्राउ पुर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो। उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो। तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो।’

पोखरेलले केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका रायमाझीलाई अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको बताएका छन्। 

नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि टोपबहादुर गत वैशाख २० गतेदेखि गायब छन्। अर्घाखाँचीबाट काठमाडौं हिँडेका उनी अहिलेसम्म बेपत्ता छन्। 

उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ। उनका छोरा सन्दीप रायमाझी वैशाख २० गते साँझ नै बुटवलबाट पक्राउ परिसकेका छन्। 

यो प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .