ad ad

राजनीति


ओलीको स्पष्टीकरण : शरणार्थीबारे संसदमा बोल्ने योजनामा स्वास्थ्यले साथ दिएन

ओलीको स्पष्टीकरण : शरणार्थीबारे संसदमा बोल्ने योजनामा स्वास्थ्यले साथ दिएन

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार १९:३१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग रहेका सबै तथ्य संसदमा सुनाउने योजनामा स्वास्थ्यले साथ नदिएको बताएका छन्।

गत वैशाख २८ गते केन्द्रीय कार्यालय च्यासलमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा उनले यो प्रकरणको सबै बृत्तान्त जेठ ४ गतेको संसदमा सुनाउने बताएका थिए।

त्यसबेला भुटानी शरणार्थीबारे व्याख्यासहितको लामो सम्बोधन गरेका उनी तर बिहीबार बसेको संसद बैठकमा उपस्थित भएनन्। 

उनले भुटानी शरणार्थी प्रकरणको सबै पोको खोल्ने घोषणा गरेको दिन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जना सांसदको प्रश्नको जवाफ दिए। 

तर बिहीबार साँझ सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रतिकूल स्वास्थ्यका कारण संसदमा जान नसकेको जवाफ दिएका छन्। 

 

‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद् बैठकमा सहभागि हुन सकिनँ। नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरु संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ’, उनले भनेका छन्, ‘स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु।’

संसदमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच अन्तरक्रिया गराउने सभामुख देवराज घिमिरेको निर्णयबारे पनि उनले बोलेका छन्। 

‘सम्माननीय सभामुखज्यूले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरुबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन आजदेखि सुरु गर्नु भएको छ। ठीक छ। प्रश्नहरु दुई किसिमका हुन्छन्। एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ। देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ’, उनले भनेका छन्, ‘सांसद्हरुले संसद्मा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस्।’

त्यसले हरेक नागरिकले संसद्मा आफैँ भएको महसुस गर्न पाउने पनि उनले बताएका छन्। ‘प्रश्नहरु औपचारिकता मात्रै नहोउन् र उत्तरहरु ओठे प्रतिवद्धता मात्रै नहोउन्’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .