ad ad

राजनीति


योगेशलाई ‘सुदीप’का ७ प्रतिप्रश्न- नेकपाको विधानमा हस्ताक्षर गर्दा बेहोस हुनुहुन्थ्यो?

योगेशलाई ‘सुदीप’का ७ प्रतिप्रश्न- नेकपाको विधानमा हस्ताक्षर गर्दा बेहोस हुनुहुन्थ्यो?

फाइल तस्बिर : नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’


नेपालखबर
जेठ ९, २०८० मंगलबार ११:२६, काठमाडौँ

‘जनयुद्ध’ शब्दका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराई र सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरूबीच जुहारी जारी छ। सोमबार प्रतिनिधि सभाको बैठकमै भनाभन गरेका दुई पार्टीका नेता सामाजिक सञ्जालमा पनि भिडिरहेका छन्।

यस क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल ‘सुदीप’ले एमाले सचिव भट्टराईलाई ७ प्रतिप्रश्न गरेका छन्। 

सरकारको नीति तथा कार्यक्रमबारे छलफलका क्रममा सोमबार एमाले सांसद भट्टराईले कुनै सरकारी दस्तावेजमा हालसम्म उल्लेख नभएको ‘जनयुद्ध’ शब्द यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट वाचन गराउन लगाएको बताएका थिए।  

उनले भनेका थिए, ‘सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ। यहाँ विगतका आन्दोलनको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि उच्चारण भएको छ। यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो। ०७२ को संविधानपछि नेपालका कुनै सरकारी दस्तावेजहरूमा यो शब्द उल्लेख छैन। पहिलोपटक प्रधानमन्त्रीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ। यतिबेला म प्रधानमन्त्री पुष्पकमल दाहालजीप्रति इंगित गरिराखेको छैन। यदि यो १ नम्बर बुँदा कांग्रेसले स्वीकार्छ भने मलाई लाग्छ कि इन्ड अफ द हिस्ट्री कांग्रेसकै इन्ड अफ द हिस्ट्री हो।’

यसमा संसद्‌मै माओवादी केन्द्रका सांसदले प्रतिवाद गरेका थिए। माओवादी सांसद देवेन्द्र पौडेलले प्रतिप्रश्न गर्दै भनेका थिए, ‘भर्खरै बोल्ने माननीयले जनयुद्धको बारेमा केही विषय उठाएर जानुभयो। माननीयजीलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु। त्यो माछा युद्ध थियो, भालु युद्ध थियो? जंगलका अर्नाहरू लडेका थिए? कि रुख, ढुंगाहरू लडेका थिए?’

अर्थात् मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने भन्ने प्रश्न उनको थियाे। 

यसपछि एमाले सचिव योगेशले ‘मेरो प्रश्न नेपाली कांग्रेसलाई थियो तर टिप्पणी माओवादीबाट आयो, तलका विषयमा पनि टिप्पणी आओस न त’ भन्दै सामाजिक सञ्जालमार्फत विभिन्न प्रश्न गरे। 

‘गुडिरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापूर्वक हत्या मान्छेले गरेको हो’, योगेशले प्रश्न गरेका छन्, ‘स्कुलमा पढाइरहेका शिक्षक लमजुङका मुक्तिनाथ अधिकारी, ओखलढुंगाका गुरुप्रसाद लुइँटेल, स्याङ्जाका गुप्तबहादुर विक र म्याग्दीका मणिलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर शरीरका दर्जनौँ ठाउँमा किला ठोकीठोकी हत्या गर्ने काम मान्छेले नै गरेको हो त?’

हेर्नुहोस्, योगेशको स्टाटस– 


यसप्रति आक्रोशित हुँदै माओवादी सशस्त्र द्वन्द्वका बेला पत्नी भूमिसरा ओली गुमाएका माओवादी केन्द्रका केन्द्रीय सदस्य ‘सुदीप’ले ‘इतिहासतिर फर्केर गौरवपूर्ण जनयुद्धमाथि प्रश्न गर्नेले कान खोलेर सुन’ शीर्षकमा सामाजिक सञ्जालमार्फत नै एमाले सचिव भट्टराईले सात प्रतिप्रश्न गरेका हुन्। 

‘स्कुल पढ्दै गरेको ११ वर्षीय दिलबहादुर रम्तेललाई स्कुलमै गोली हानेर हत्याको सुरुवात के राज्यले गरेको थिएन’, सुदीपको प्रतिप्रश्न छ, ‘...सांस्कृतिक कार्यक्रम सकेर हिँड्दै गरेकी मेरो जीवनसंगिनी भूमिसरा ओली र गंगा घर्तीलाई एकघण्टा हिँडाए। सैनिक क्याम्पमा २०५९ जेठमा पुर्‍याएको देख्ने तिम्रा दर्जनौँ कार्यकर्तालाई सोध– रातभर के गरियो र भोलिपल्ट दोहोरो भिडन्तमा मारिएको प्रचार गरियो, यो कुरा बुझ्दैनौ?’ 

यस क्रममा नेता सुदीपले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपामा रहँदा भट्टराईले खेलेको भूमिका र बोलेका कुराको प्रसंग पनि उठाएका छन्। 

‘नेकपाको विधान र प्रतिवेदनमा आफैँले हस्ताक्षर गर्दा के होलीवाइनको नशामा बेहोस हुनुहुन्थ्यो’, सुदीपले सोधेका छन्, ‘२०७६ सालमा पार्टी कार्यालयमा गरिएको जनयुद्ध दिवसको सन्दर्भमा तपाईंले बोलेका कुरा केवल झुटका पुलिन्दा थिए?’ 

हेर्नुहोस् झकबहादुर मल्लको स्टाटस-


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .