ad ad

राजनीति


सत्तारुढ दलबीच संसदमा विचाराधीन ९ वटै विधेयक अघि बढाउने समझदारी

सत्तारुढ दलबीच संसदमा विचाराधीन ९ वटै विधेयक अघि बढाउने समझदारी

नेपालखबर
असार १४, २०८० बिहिबार २२:१३, काठमाडौँ

सत्तारूढ चार दलका शीर्ष नेताले संसदमा विचाराधीन सबै विधेयकलाई अघि बढाउने समझदारी गरेका छन् । त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन जुटाउन पहल गर्ने निर्णय पनि भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सहितका नेताबीचको छलफलले  रोकिएका सबै विधेयक प्रक्रियामा लैजाने निर्णय गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ खालको सहमति गरेर अघि बढ्ने विषयमा छलफल भएको बताए ।

अहिले प्रतिनिधि सभामा ७ र राष्ट्रिय सभामा २ गरि ९ वटा विधेयक रोकिएका छन् ।

‘केहीमा दलीय समझदारी आवश्यक छ,’ बिहीबारको भेटबारे आचार्यले नेपालखबरसँग भने, ‘चारै शीर्ष नेताले प्रतिपक्ष नभनी विश्वासमा लिने बताउनु भएको छ।’

नेताहरूले बजेट पास गर्न एकढिक्का भएको गठबन्धनलाई थप एकताबद्ध बनाउँदै लैजाने र असन्तुष्टि जन्मने कुनै क्रियाकलाप नगर्ने प्रतिबद्धता जनाएका छन् ।

‘गठबन्धन बजेट पास गर्दा जसरी उभियो, त्यसैगरी अब राष्ट्रिय सहमति बनाएर बजेट कार्यान्वयन गर्छौं,’  शीर्ष नेताको बैठकबारे एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।

बजेटप्रति असन्तुष्ट भएपछि एकीकृत समाजवादी, जसपा, लगायतका दलको माग सम्बोधन गर्न ८० अर्ब रकम विविध शीर्षकबाट सांसदहरूका योजनालाई हालिदिने सहमति भएको छ ।

त्यही सहमतिपछि बजेट पासका पक्षमा मत दिन सत्तारूढ दलका सांसद तयार भएका हुन् । आगामी दिनदेखि बजेट निर्माणमा सांसदलाई सहभागी गराउने निर्णय पनि भएको छ ।

‘बजेटमा एमालेले खेल्न खोजेको थियो, सत्तारूढ दल एकढिक्का भएर परास्त गर्‍यौँ,’ पाण्डेले थपे, ‘अहिले हामीले केही समझदारी गरेका छौँ, अब क्रमशः लागू गर्दै जान्छौँ।’

सत्ता गठबन्धनमा कुनै समस्या आउन नदिन विश्वासको नयाँ अध्याय सुरु भएको उनले बताए ।

चार नेताले बजेटको विषयमा समीक्षा गरेका थिए ।

बजेटका पक्षमा मतदान गर्दा काङ्ग्रेसका ५ सांसद देशबाहिर भएकाले उपस्थित हुन नसकेको बताइएको थियो ।

‘अब गठबन्धनमा तत्काल कुनै समस्या नदेखिएला,’ काङ्ग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय भानु देउवाले भने, ‘मिलेर अघि बढ्ने, जनपक्षीय काम गर्न लागि पर्ने भन्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .