ad ad

राजनीति


प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमाले आक्रामक, संसद् अवरोध तयारी

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमाले आक्रामक, संसद् अवरोध तयारी

एमाले संसदीय दलको बैठक। तस्बिर : राजन काफ्ले


नेपालखबर
असार २०, २०८० बुधबार १४:५१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही सोमबार दिएको एक विवादित अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्‍मा आन्दोलन चर्काउने भएको छ। 

प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा भएको लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन समारोहमा विवादित अभिव्यक्ति दिएपछि एमाले आक्रोशित भएको हो।

एमालेले बुधबार संसदीय दलको आकष्मिक बैठक राखेर प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्‍ अवरोधसम्मको आन्दोलन गर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले असार १८ गते प्रधानमन्त्रीले देशको स्वाभिमान र सार्वभौम सत्ताविरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको बताए।

‘प्रचण्डले आफूलाई प्रधानमन्त्री संसदले बनाएको नभइ दिल्लीले बनाएको भनेर बोलेका छन्। आजको हाम्रो बैठकको सार निर्णय भनेको प्रधानमन्त्रीले संसद् र सार्वभौमसत्तामाथि गरेको आक्रमणको प्रतिरोध हो’, उनले भने, ‘हामीले यो विषय संसद्‍मा जोडदार रुपमा राख्ने छौँ। जनताले निर्वाचित गरेको प्रधानमन्त्री त हामीले बनाएको होइन, कहीँ कतैबाट बनाइएको भनेका छन्।’ 

उनले यो विषय सामान्य नभएकाले त्यही ढंगबाट संसद्‍मा उठाउने बताए। 

‘अहिले नै संसद् बैठक अवरुद्ध गर्ने नभनौँ तर संसद् बैठकमा अवरोधसम्म हुन सक्छ’, उनले भने, ‘कोही मान्छे प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली एको थियो भनेर के स्थापित गर्न खोजिएको हो? यो सामान्य विषय होइन, यसलाई हामीले हाउसमा कडा ढंगबाट उठाउँछौँ।’

उक्त पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको प्रशंसा गर्दै उनले आफूलाई प्रधानमन्त्री बनाइदिन पटक पटक दिल्ली धाएको बताएका थिए। 

उनले आफूलाई प्रधानमन्त्री बनाउन पनि सरदार सिंहले दिल्ली र नेपाल कयौँ पटक राजनीतिक दौडधूप गरेको स्मरण गरेका थिए।

‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानुपनि भयो’, उनले अगाडि भने, ‘काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने गर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .