ad ad

राजनीति


‘अपराधको मुद्दा लगाएर फसाइदिने’ भन्दै पत्रकारलाई सांसद ज्ञानेन्द्र शाहीको धम्की, महासंघको आपत्ति

‘अपराधको मुद्दा लगाएर फसाइदिने’ भन्दै पत्रकारलाई सांसद ज्ञानेन्द्र शाहीको धम्की, महासंघको आपत्ति

नेपालखबर
भदौ १०, २०८० आइतबार २१:२१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही र उनका सहयोगीले पत्रकार शंकर तिवारीलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। 

नीतिन्यूज डटकममा कार्यरत पत्रकार तिवारीलाई ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको महासंघले बताएको छ।

महासंघका अनुसार भदौ ६ गते बुधबार पत्रिकाको काम सकाएर घर फर्कँदै गर्दा पत्रकार तिवारीलाई काठमाडौँको बिजुली बजारको पुलमा प्रतिनिधिसभा सदस्य शाहीको नाम लिँदै दुई जनाले धम्क्याएको पत्रकार महासंघ काठमाडौंले जानकारी गराएको छ।

त्यसअघि जघन्य अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै प्रतिनिधिसभा सदस्य शाहीले समेत सामाजिक सञ्जालमार्फत सन्देश पठाएर धम्क्याएको महासंघले विज्ञप्तिमाफर्त जनाएको छ। 

‘समाचारको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट सल्टाउनुको साटो सार्वजनिक पदधारी व्यक्ति र उनका सहयोगीलगायतले गरेको यो हर्कत स्वतन्त्र पत्रकारितामाथिको ज्यादती हो,’ महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारमाथिको यो ज्यादतीमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी प्रेसको सुरक्षामा गम्भीर हुन प्रहरी प्रशासनसँग माग गर्दै महासंघ पत्रकारलाई धम्क्याएर स्वतन्त्र पत्रकारितामा आघात पुऱ्याउने कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ।’

महासंघले प्रेसलाई हतोत्साहित र त्रसित बनाउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .