ad ad

राजनीति


मेयर र वडाध्यक्षबीच सहमति, पोखरा महानगरको ताला खुल्यो

मेयर र वडाध्यक्षबीच सहमति, पोखरा महानगरको ताला खुल्यो

वाशुदेव मिश्र
असार १३, २०७६ शुक्रबार १४:४६,

मेयर र वडाध्यक्षबीचको वार्तापछि पोखरा महानगरपालिकामा लागेको ताला शुक्रबार खोलिएको छ।

पोखरा महानगरपालिकाको बजेटप्रति असन्तुष्ट नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले बिहीबार महानगरको मूल गेटमा ताला लगाएका थिए। शुक्रबार भने मेयर मानबहादुर जिसी र असन्तुष्ट जनप्रतिनिधीबीच महानगरमा छलफल भएपछि ताला खोलिएको हो।

‘हामीले मूलतः दुई वटा कुरा राखेका थियौँ, पहिलो मेयर आफैँ आएर वार्ता गर्नुपर्छ भनेका थियौँ, दोश्रो उहाँले बोलेका शब्द फिर्ता गर्नुपर्छ भन्ने हाम्रो माग थियो’, कांग्रेसका सचेतकसमेत रहेका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले भने, ‘लगभग सहमति भएपछि हामीले ताला खोलेका हौँ।’

महानगरले असार १० गते ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको थियो। त्यसको भोलिपल्ट बजेट पारित गर्ने विषयमा महानगरले सबै वडामा समावेशी बजेट नराखेको भन्दै असहमति राखेका थिए। असहमतिसहित विरोध गरे पनि बहुमतले बजेट भने पारित भएको थियो।

महानगरको वार्षिक विकास कार्यक्रम रेडबुक पनि ढिला दिइएको भन्दै असन्तुष्ट ११ जना वडाध्यक्षहरुले रातो किताब नै च्यातेका थिए। रातो किताब च्यातिएपछि मेयर जिसीले ‘योजना माग्न मै कहाँ आउनुपर्ला’ भन्ने जवाफ फर्काएका थिए। उक्त शब्द पनि फिर्ता लिनुपर्ने मागसहित बिहीबारदेखि महानगरमा तालाबन्दी गरिएको थियो। ‘मेयरसाप हिजै वार्ता गर्न आएको भए ताला हिजो नै खुल्थ्यो, उहाँ आज आफैँ आउनुभयो, सभाहलमा गएर वार्ता भयो, रातो किताब च्यातिएपछि आवेशमा आएर बोलेँ भनेर गल्ती स्वीकार्नुभयो अनि बजेटमा छुटेका महत्वपूर्ण छन् भने ल्याउनुहोला भनेपछि हामीले ताला खोल्यौँ’, लामिछानेले भने, ‘हामीले सबै वडाध्यक्षहरुलाई महत्वपूर्ण योजनाहरुको सूची ल्याउन भनेका छौँ, मेयरसाप पनि काठमाडौं जानुभएको छ, उहाँ फर्केपछि योजनाहरु समावेश गरिनेछन्।’

रातो किताब सच्याउन गरेको मागप्रति भने मेयरले हुबहु सबै सच्याउन नसकिने बताएको सहभागीले जानकारी दिए ।

बजेटमा राजनीतिक रंग दिएको छैन: मेयर जिसी

यसअघि पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीले योजना छनोट र बजेट बाँडफाँडमा कुनै पनि राजनीतिक रंग नदेखाएको बताएका दावी गरेका थिए। शुक्रबार महानगरमा आयोजित पत्रकार सम्मेलनमा मेयर जिसीले पाँचौ नगर सभामा आर्थिक वर्ष २०७६/०७७ को नीति, कार्यक्रम र वार्षिक बजेट उपर व्यापक छलफल गरी प्राप्त सुझावहरुलाई समावेश गर्ने गरी पारित गरेको बताए।

‘पोखरा महानगरका आफ्नै विशिष्टता र विविधता छन्। नगरको मुख्य बजार क्षेत्रमा सहरी विकासले गति लिएको छ भने महानगरको धेरै भूभाग ग्रामीण पहाडी क्षेत्र रहेकाले विशेष पूर्वाधार र विकास कार्यक्रमलाई नीति तथा कार्यक्रममा सम्बोधन गरी बजेट विनियोजन गरिएको छ,’ पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्तिमा भनिएको छ,‘समथर र पहाडी दुबै भौगोलिक परिवेशलाई मध्य नजर गर्दै तदनुकुलको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको हो, सहरी क्षेत्रमा अस्फाल्ट कंक्रिट र ग्रामीण क्षेत्रमा कनेक्टिङ सडकलाई प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको छ। ’

आ.व. २०७६/२०७७ नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा संविधानको मर्म, भावना अनुसार, स्थानीय सरकार सञ्चालन ऐन २०७४, नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम, चालू आवधिक योजना, दीगो विकासका लक्ष्य, पोखरा महानगरको बस्तुगत अवस्था, विकासको हालको अवस्था र आवश्यकतालाई विश्लेषण गरिएको मेयर जिसीको भनाइ छ।

बजेटमा महिला, बालबालिका, अपांगता (फरक क्षमता) भएका व्यक्ति, ज्येष्ठ नागरिक, उत्पिडित समुदाय, जनजाति, पछाडि परेको क्षेत्र, भाषा, धर्म, संस्कृति, सांस्कृतिक सम्पदा, मौलिक गीत, संगीत, साहित्य, कला, प्राकृतिक सम्पदा, सूचना प्रविधि लगायत सम्पूर्ण क्षेत्रलाई समेटिएको उनको भनाइ छ। पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने तथा स्मार्टसिटीको रुपमा विकास गर्दै लैजाने अर्जुनदृष्टिसहित महानगरपालिकाले पूर्वाधार विकास र अन्य कार्यलाई दीर्घकालीन विषयसँग जोडेर अगाडि बढाइएको मेयर जिसीले बताए।

‘साना, अल्पकालीन तथा खुद्रे योजना भन्दा भविश्यमा महानगरकोे विकास र समृद्धिमा ठोस परिणाम दिने तथा बहु वडा लाभान्वित हुने ठूला योजनाहरुलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको छ,’ मेयर जिसीले भने, ‘महालेखा परीक्षकको प्रतिवेदनले निर्देश गरे अनुसार उपभोक्ता समिति मार्फत् सञ्चालन हुने योजनाहरुलाई न्यूनीकरण गरी टेन्डरमार्फत् विकास योजना कार्यान्वयन गर्न कार्यलाई प्राथमिकतामा राखिएको छ।’ महानगरका गौरवका आयोजना फेवाताल संरक्षणदेखि पर्यटनका दृष्टिकोणले सम्भाव्य क्षेत्रको विकासमा महानगरको ध्यान भएको र कोकांग्रेस कोनेकपा भन्दा पनि समग्र महानगरको समृद्धिको लागि सोचेको उनले सुनाए।

‘कस्ता योजनालाई प्राथमिकतामा राख्ने र कति आकारको बजेट दिने छलफलबाट निश्कर्षमा पुगेका हौं’, उनले भने, ‘नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भयो। बजेटमा सोही अनुसारको रकम विनियोज गरेका छौँ।’ पूर्वाधार आवश्यकताको आधारमा वडालाई बजेट दिइएको उनको भनाइ छ।

मेयर जिसीले प्राथमिकताको आधारमा वडाहरुमा बजेट विनियोजन भएको समेत बताए। ‘बजेट वितरण गर्दा यो कांग्रेसको, यो अर्काे पार्टीको भनेर गरिएको छैन,’ उनले भने, ‘साच्चै हेर्ने हो भने कतिपय वडामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी भएको वडामा बजेट धेरै छ। हामी सबै पोखराको विकास होस् भन्ने चाहनेहरु अनेक लफडामा लागेर हुँदैन।’

पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .