ad ad

राजनीति


एमाले बागमती : अध्यक्षमा मात्रै पाँचजनाको उम्मेदवारी, अन्य पदमा को-को भिड्दै?

एमाले बागमती : अध्यक्षमा मात्रै पाँचजनाको उम्मेदवारी, अन्य पदमा को-को भिड्दै?

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार १९:३६, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी परेको छ।

मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलसँगै अन्य तीनजनाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। 

अध्यक्षका लागि केशरबहादुर बुढाथोकी, वर्तमान अध्यक्ष केशवराज पाण्डे र बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठले पनि मनोनयन दर्ता गराएका छन्। 

यससँगै एमाले बागमतीको नेतृत्व पनि लुम्बिनी प्रदेश कमिटीको जस्तै चुनवाी प्रतिस्पर्धातिर जाने देखिएको छ। नेताहरुले सहमतिको प्रयास गरे पनि सम्भव नभएपछि बिहीबार मतदान गराउने तयारी भएको छ।

रामेछाप जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठ प्रस्तावक र वचन देउजा समर्थक रहेर ढुंगेलले उम्मेदवारी दर्ता गरेका हुन्। ढुंगेललाई एमाले नेता महेश बस्नेतसहितले साथ दिएका छन्। 

उता दाहालको प्रस्तावकमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र समर्थकमा देवकृष्ण विकल छन्।

एमाले बागमतीको नेतृत्व सर्वसम्मत टुंग्याउन नसकिएपछि बिहीबार (भोलि) दुईजनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो।

एमालेको बागमती प्रदेश अध्यक्षमा दाबी गरिरहेका रामेछापका ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन्। 

वाम गठबन्धनबाट २०७४ मा प्रदेश सभामा निर्वाचित उनी एमाले-माओवादी गठबन्धन सरकारमा मन्त्री भएका थिए। प्रतिनिधि सभामा तीनपटक उम्मेदवार बने पनि ढुंगलले चुनाव जित्न सकेनन्। 

ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले हारेका थिए। 

यस्तै, अर्का आकांक्षी दाहाल एमालेका केन्द्रीय सदस्य हुन्। उनी संसदीय राजनीतिका पनि अनुभवी नेता हुन्। 

उनी २०४८ सालयता दाहाल निरन्तर निर्वाचित जनप्रतिनिधि छन्। ४ मंसिर २०७९ मा भएको निर्वाचनमा उनी उम्मेदवार बनेनन्।

उपाध्यक्षमा ५ जना 
एमाले बागमतीको पहिलो अधिवेशनमा उपाध्यक्षतर्फ पनि पाँचैजनाले उम्मेदवारी हालेका छन्। 

निर्वाचन समितिका अनुसार  राजेन्द्र राजथला, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र सुवासचन्द्र ठकुरीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। 

सचिवका लागि चारजनाको उम्मेदवारी परेको छ। रामकुमार अधिकारी, हस्त पण्डित, नवराज सिलवाल र रत्न गुरुङले सचिवमा उम्मेदवारी दिएका हुन्। 

उपसचिव पदका लागि टासी लामा, गंगादेवी श्रेष्ठ, खड्गबहादुर खत्री, डब्बल पाण्डे, भक्तकुमारी लामा, ठाकुरप्रसाद गजुरेल, रमेश महर्जन, कृष्णहरि थापा र ओमराज पन्तको मनोनयन दर्ता भएको छ।

एमालेले बागमतीको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन गराउँदैछ। निर्वाचन कार्यक्रम अन्तर्गत एमालेले विद्युतीय मेशिनमा मतदान गराउने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .