ad ad

राजनीति


माओवादी निष्कर्ष : देशमा धार्मिक तथा साम्प्रदायिक सद्‍भाव बिथोल्न खोजिँदैछ

माओवादी निष्कर्ष : देशमा धार्मिक तथा साम्प्रदायिक सद्‍भाव बिथोल्न खोजिँदैछ

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०८० बिहिबार १२:४९, काठमाडौँ

सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो।

पार्टी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिबारे बैठकमा छलफल भएको बताए।

उनले देशमा अराजकताको संकेतहरु देखापरेका भन्दै त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए। 

उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताए। 

त्यस्तै आन्दोलनरत राहत शिक्षकहरुसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।

प्रवक्ता सापकोटाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने पनि बैठकको निष्कर्ष रहेको उनले बताए। 

‘राहत शिक्षकको माग र उनीहरुले उठाएका प्रश्नमा राम्रोसँग छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्ने भएको छ। शिक्षा विधेयक संसदमा दर्ता भएको छ, त्यो विधेयकबारे पनि हामीले गम्भीर छलफल गर्‍यौँ। त्यसलाई सकेसम्म सबैसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्छ’, उनले भने।

सापकोटाले देशका विभिन्न भागमा देखापरेको धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिने कुराबाट जोगिएर सद्भाव कायम गर्नुपर्ने बताए।

‘नेपालीहरुमा सामाजिक सद्भाव पहिलेदेखि धेरै राम्रो छ। सामाजिक सद्भाव कायम गरिराख्नु पर्छ। अराजकताका संकेतहरु देखापरेका छन्। त्यसलाई बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ’, उनले भने, ‘बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान हुन्छ। समयमै समाधान गर्ने पहलकदमी नलिए बिकराल रुप लिनसक्छ। त्यसैले बेलैमा सचेत समाधान गर्नुपर्छ भनेर छलफल भयो।’

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टी पंक्ति गम्भिरतापूर्वक लाग्नुपर्ने बताए। 

प्रवक्ता सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन अपिल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .