ad ad

राजनीति


एकीकृत समाजवादीको समाजवादी जागरण अभियान : मेचीबाट सुरु, कञ्चनपुरमा समापन

एकीकृत समाजवादीको समाजवादी जागरण अभियान : मेचीबाट सुरु, कञ्चनपुरमा समापन

नेपालखबर
असोज ११, २०८० बिहिबार १७:२१, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ।

एकीकृत समाजवादीले यहीँ असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो। असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ।

यस अवधिमा करिव १ हजार किलोमिटर यात्रा हुने बताइएको छ। यस बीचमा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताए। 

‘समृद्धि र समाजवादको आजको चरणको ठोस कार्यक्रम के हुनसक्छ? भन्ने बारेमा हामीले दुनियाँलाई यो कुरा बताउने। त्यस अर्थमा हाम्रा एजेण्डाहरु राष्ट्रलाई सुनाउने, यो महाधिवेशन अगाडी नै हामी पूर्वदेखि पश्चिम गएर आफ्ना कुराहरू राख्ने। त्यसमा जनताको, बौद्धिक जमातको र अरु तमाम क्षेत्रको सुझावहरु समेत लिएर अझ स्पष्टताका साथ आउने महाधिवेशनमा जानका लागि पहलकदमी लिएका छौँ,’ उनले भने, ‘त्यही पहलकदमी यो अभियान हो। यसमा हाम्रो धेरै प्रष्ट कुरा छ, हाम्रो जस्ता मुलुकहरुको सबभन्दा ठूलो समस्या बेरोजगारी हो। विकासका अरु तमाम कुरा गरेर यदी बेरोजगारीलाई समाधान गर्ने, त्यो समस्यालाई हल गर्ने ठोस कार्यक्रम भएन। त्यस अनुकुल कृषिमा हस्तक्षेप गरिएन। उद्योगमा हस्तक्षेप गर्न सकिएन। त्यस अनुकुलको पूर्वाधार निर्माण गर्न सकिएन। अरु उत्पादनको क्षेत्रहरु निर्माण गर्न सकिएन।’ 

उनले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिए। 

त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशन अघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको उनले उल्लेख गरे। 

यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उनले बताए।

‘सुशासन, स्वास्थ्य, शिक्षा जस्ता कुराहरुमा त्यस अनुकुल नै हाम्राजस्ता मुलुकहरुले कसरी बेरोजगारी उन्मुलन गर्छ, गरिबी उन्मुलन गर्छ भन्ने ठोस कार्यक्रम भएन भने हामी फेरि राजनीतिको गोलचक्करमा फस्छौँ। भुमरीमा फस्छौँ। यसले गर्दा अब दुनियाँका सामु यो कुरा प्रष्ट भनेर जानुपर्छ,’ उनले भने, ‘साथसाथै हाम्रो जस्तो मुलुकका लागि भुराजनीतिक दबाब झेल्दै सबै राष्ट्रहरुसँग समानताका आधारमा र आपसी हितका आधारमा सम्बन्धहरुलाई बिस्तार गर्दै राष्ट्रको पहिचान र प्रगतिलाई अगाडी बढाउनका लागि कस्तो विदेश नीति चाहिन्छ भन्ने बारेमा समेत हामीले आफुले बोल्नुपर्ने भएको छ। प्रष्ट कुरा राख्नुपर्ने भएको छ। हिजो हामीले दिशा बताएका थियौँ। अब हामी बाटो बताउन जादैँछौँ।’

उनले वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरू भने स्पष्टता साथ अघि बढेको बताए। 

यस अभियानका क्रममा आफूहरुले समाजवादमा जाने बाटो स्पष्टताका साथमा बताउने उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .