ad ad

राजनीति


मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रयत्न गरेन : अध्यक्ष नेपाल

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रयत्न गरेन : अध्यक्ष नेपाल

नेपालखबर
असोज ११, २०८० बिहिबार १७:३७, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन्।

उनले दैनिक उपभोग्य वस्तुहरुको अन्धाधुन्ध रुपमा मूल्यवृद्धि भइरहेको बताए। मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदापनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद चल्दा संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको बताए।

उनले भने, ‘यसरी अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन। अन्धाधुन्ध भाउ एकैचोटी बढाउने। कुनै औचित्य छैन त्यसमा। थोरै थोरै बढाउनु त एउटा कुरा होला। त्यो बढाउँदा पनि कहिँ छलफल गर्नुपर्ने होला। तर जसरी आफ्नो हिसावले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामीपनि आकर्षित गराउन चाहन्छौँ। संसद चल्दाखेरी संसदमा आवाज उठाउने हो। अरु बेलामा सरकारको ध्यान हामीले विभिन्न माध्यमबाट आकर्षित गर्ने हो।’

अध्यक्ष नेपालले माईतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरुको न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताए। उनले आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने बताए।

उनले भने, ‘शिक्षक संगठनहरुको सहमति भइसकेको छ। कतिपय कुरा अझैपनि अपुग भयो भन्ने कुरा उठेका छन्। यि सबै कुराहरुको बारेमा सरकारको ध्यान आकर्षित हुनुपर्दछ। सबै न्यायोचित मागहरु, जायज मागहरु पूरा गर्ने सन्दर्भमा विधेयकमा मिलाउनुपर्ने कुरा छन् भने विधेयकमा मिलाएर, अरु नीतिमा मिलाउनुपर्ने कुरा छ भने नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्छ।’

अध्यक्ष नेपालले पार्टीको समाजवादी जागरण अभियान अन्तर्गत पार्टी संगठनलाई परिचालित र संगठित गर्दै जनताको कुरा सुन्ने बताए।
   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .