प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार हिन्दुहरुको पवित्र तीर्थस्थल मानसरोवर भ्रमण गरी कैलाश पर्वतको समेत दर्शन गरेका छन्।
प्रचण्डले त्यहाँ हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवरको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने पनि बताए। यसका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भइसकेको जानकारी पनि उनले दिएको प्रधानमन्त्रीको निजी सचिवालयबाट प्रेषित प्रेस नोटमा उल्लेख छ।
हुन त कुन धर्म वा संस्कृति अँगाल्ने भन्ने व्यक्तिको निजी रोजाइ हो। यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि स्वतन्त्र छन्। निजी रुपमा उनी कुनै धर्म मान्न पनि सक्छन्, नमान्न पनि सक्छन्। एउटा त्याग गरी अर्को अँगाल्न पनि पाउँछन्। त्यसमा अरुले टाउको दुःखाउनुपर्ने कारण छैन।
त्यसो त प्रधानमन्त्रीपुत्री रेनु दाहाल प्रमुख रहेको भरतपुर महानगरपालिका र तिब्बतको सिगात्से सहरबीच भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया पनि अघि बढाइएको छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले एक महिनअघि मात्र तिब्बतको ल्हासा भ्रमण गरी सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका निम्ति तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई निम्तो पनि दिएकी थिइन्। प्रचण्डको भ्रमणलाई यसैको निरन्तरता भन्न सकिने ठाउँ पनि नभएको होइन।
तर, प्रधानमन्त्री प्रचण्डको यसपालिको चीन भ्रमण निजी होइन। सरकारका तर्फबाट देशको प्रतिनिधित्व गरी उनी चीन गएका छन्।
औपचारिक भेट, वार्ता र सम्झौता/सहमति गरेका छन्। यात्राका क्रममा यो तीर्थस्थल बाटामा परेको पनि होइन। चीनको राजधानी बेइजिङबाट ३५ सय किलोमिटर टाढाको यो गन्तव्य विशेष योजना र तयारीका साथ छनोट गरिएको बुझ्न गाह्रो छैन।
यति हुँदाहुँदै पनि प्रचण्ड धर्मनिरपेक्ष राज्यका प्रधानमन्त्री पनि हुन्। अझ धर्मको अस्तित्व नै स्वीकार नगर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रमुख हुन्। उनले आफ्ना कार्यकर्तालाई यसैगरी दीक्षित गरेको नै पाँच दशक बितिसकेको छ।
उनको निजी वेबसाइट सीएम प्रचण्ड डट कममा उल्लेख भएअनुसार प्रचण्डले २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। २०४६ सालयता लगातार उनी पार्टीको नेतृत्वमा छन्।
उनी यतिखेर चीन भ्रमणमा छन्। चीनमा त झन् कम्युनिस्ट शासन नै छ। त्यहाँ झन् राज्यले कुनै धर्मलाई प्रोत्साहन गर्ने कुरै भएन।
तैपनि, प्रचण्डले हिन्दु तथा बौद्ध धार्मिकस्थल मानसरोवर पुगेर कैलाश पर्वतको समेत दर्शन गरेका छन्। प्रधानमन्त्रीको हैसियतमा औपचारिक चीन भ्रमणमा रहँदा एक कम्युनिस्ट नेताले गरेको यस तीर्थाटनको विशेष अर्थ र महत्त्व भने अवश्य छ। उनले त्यहीँबाट केही राजनीतिक र कूटनीतिक सन्देश दिन खोजेको बुझिन्छ।
भूराजनीतिक मामिलाका जानकार निश्चलनाथ पाण्डेका भनाइमा प्रचण्डले कैलाश मानसरोवर यात्रा गर्ने नेपालको पहिलो बहालावाला प्रधानमन्त्रीको रुपमा रेकर्ड राखेका छन्।
‘हरेक कुरालाई बहुआयामिक कोणबाट हेर्ने र त्यस खालको सन्देश दिन सक्ने प्रचण्डले यो कदम पनि निकै सोचविचार गरेर नै चालेको हुनुपर्छ,’ उनी भन्छन्, ‘राजनीतिक र भूराजनीतिक कोणबाट हेर्दा यो कदम धेरै अर्थपूर्ण छ।’
प्रचण्ड मानसरोवर किन गए भन्ने प्रश्नको जवाफ खोज्न अलि पछाडि फर्किनुपर्ने हुन्छ।
गत जेठ तेस्रो साता भारतको मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेका थिए। त्यतिखेर उनले माओवादीको बीजेपीकरण गर्न खोजेको भनेरसमेत टिप्पणी व्यहोरेका थिए। त्यहाँबाट फर्केर आएर उनी केही मन्त्रीको लावालस्कर नै लगाएर पशुपतिनाथ दर्शनमा गएका थिए।
यसै पनि देशमा धार्मिक अतिवादउन्मुख गतिविधि बढ्न लागेका हुन् कि भनेर सत्ताधारी नेताहरुले नै चिन्ता व्यक्त गरिहेका छन्। यस्तो बेलामा धार्मिक रुझान भएको जनमतलाई आफूसँगै राख्न प्रचण्डलाई मद्दत गर्न सक्छ।
अर्कोतिर धेरै भारतीय तीर्थालुको आस्था र आकर्षण जोडिएको तीर्थस्थलको दर्शनार्थी बनेर दक्षिणको संस्थापनलाई चिनियाँ भूमिबाटै आश्वस्त तुल्याउन खोजेको पनि बुझ्नेहरुको कमी छैन।
भारतको सत्तारुढ दल बीजेपी र त्यसका नेता प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दुत्वकै आडमा राजनीति गरिरहेका छन्। नेपालको माओवादी र त्यसमा पनि अध्यक्ष प्रचण्डलाई ‘युद्ध त्यागेर बुद्ध’को बाटोमा अग्रसर भएको भन्दै मोदीले नेपाल आएकै बखत खुसी व्यक्त गरेका थिए।
उज्जैनको महाकालेश्वरदेखि पशुपतिनाथ हुँदै कैलाश मानसरोवरसम्मको प्रचण्ड तीर्थाटनको उद्धेश्य धार्मिक वा आध्यामिकभन्दा बढी राजनीतिक हो भन्दा फरक पर्ने देखिँदैन।
किनभने, तेस्रो कार्यकालका लागि सत्ताको सिंहासनमा पुगेका उनले यसपालि आफू पुरानो प्रचण्ड होइन र आफूमा पर्याप्त परिवर्तन आइसकेको ‘सबैले’ देख्ने गरी देखाउन चाहेका छन्।
Shares
प्रतिक्रिया