ad ad

राजनीति


ओलीको चाहनाविपरीत हुने नै भयो बागमतीमा एमालेको चुनाव

ओलीको चाहनाविपरीत हुने नै भयो बागमतीमा एमालेको चुनाव

नेपालखबर
असोज १२, २०८० शुक्रबार ८:३९, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेश कमिटीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ। 

असोज ८ गते अधिवेशन उद्घाटन भएर ९ गतेदेखि बन्द सत्र सुरु भए पनि सर्वसम्मत नेतृत्व छान्न खोज्दा चुनावी कार्यतालिका तेस्रोपटक सार्नु परेको छ। 

पहिलोपटक अधिवेशन गरेको बागमती प्रदेश कमिटीको सकभर चुनाव नगर्ने अध्यक्ष केपी ओलीको चाहना छ। 

तर, नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलले अडान नछोडेपछि आज (शुक्रबार) चुनाव हुन लागेको हो।

चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालखबरलाई दिएको जानकारी अनुसार अध्यक्षमा २, उपाध्यक्षमा ४, सचिवमा ४, उपसचिवमा ३ सहित सबै पदमा धेरैको उम्मेदवारी परेकोले चुनाव गर्न लागिएको हो।

निर्वाचन कमिटीले शुक्रबार बिहान सबेरै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। उम्मेदवारको नामावली प्रशासन गर्ने तालिका बिहीबारकै लागि थियो। तर, बिहीबार सहमतिका लागि भन्दै उम्मेदवार अन्तिम नामावली प्रकाशन गरिएको थिएन।

बागमती प्रदेश कमिटीको नेतृत्वका लागि सुरुमा ५ जनाले उम्मेदवारी दर्ता गरेका भएपनी बिहीबार सानु श्रेष्ठ, केशव पाण्डे र केशर बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

‘अब १० बजेतिर चुनाव सुरु भैसक्छ। विद्युतीय मतदान हुनेछ। चुनावको सबै प्रक्रिया पूरा भएको छ,’ अध्यक्षका उम्मेदवार कृष्ण दाहालले भने।

एमाले बागमतीको अधिवेशनमा १ हजार १७४ मतदाता छन्। उनीहरुले पदाधिकारीसहित २ सय ४० सदस्यीय बागमती प्रदेश कमिटी छनोट गर्नेछन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .