ad ad

राजनीति


इतिहास बिर्सिएर मूलधारका दलहरुका योगदानको अवमूल्यन गर्न खोजियो : वर्षमान पुन

इतिहास बिर्सिएर मूलधारका दलहरुका योगदानको अवमूल्यन गर्न खोजियो : वर्षमान पुन

नेपालखबर
असोज १५, २०८० सोमबार १८:२२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मूलधारका राजनीतिक दलले इतिहासका विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र समाज परिवर्तनमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रवृत्ति हाबी हुन खोजेको बताएका छन्।

पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरुले मूलधारका राजनीतिक दलहरुप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए। राजनीतिक दलहरु र नेताहरुप्रति उठेका प्रश्नको सबैले जवाफ दिर्नैपर्ने भए पनि कतिपय प्रश्न नियोजित रहेको उनको भनाइ थियो। उनले पञ्चायतकालमा भन्दा बहुदलीय व्यवस्थामा र बहुदलीय व्यवस्थामा भन्दा आफूहरुको नेतृत्वमा भएको सशस्त्र जनयुद्ध र ०६२/०६२ को जनक्रान्तिपछि मुलुकमा भएको विकासका फेहरिस्त प्रस्तुत गरे।

‘मुख्य रानजीतिक शक्तिहरुका बारेमा प्रश्नहरु छन्। ती प्रश्नको एकएक जवाफ दिनुपर्छ। पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ’, १ सय ५४ औं गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार राजधानीमा गरेको कार्यक्रममा पुनले भने, ‘कतिपय नियोजित प्रश्न छन्। इतिहास र आजको यथार्थता बिर्सिएर मूलधारका रानजीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन्।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले पञ्चायतको समयभन्दा ०४६ र ०६३ पछिका विकासमा तथ्याङ्कले नै देशमा सडक सञ्जालको निर्माण, विद्युतीकरण, भौतिक पूर्वाधारको विकास, साक्षरता र उच्च शिक्षाको दर हेर्दा नेपाल तीब्र विकासको चरणमा रहेको स्पष्ट हुने बताए। यद्यपि आजको विश्वको तुलनामा केही अपर्याप्ता रहेको उनले स्वीकार गरे।

पुनले नेपालमा ००७ सालमा कांग्रेस, ०२८ सालमा एमाले र ०५२ मा आफ्नो पार्टीले संघर्षको बाध्यात्मक विधिका रुपमा हिंसाको प्रयोग गरेको भए पनि नेपाली समाजको मूल चरित्र शान्तिपूर्ण, अहिंसात्मक र मेलमिलाप रहेको चर्चा गरे।

‘००७ सालमा संघर्ष गरेको पुस्ता सायद आज जिवित छैन। ०२८, ०३६, ४६ र हाम्रो पार्टीको नेतृत्वमा भएको सशस्त्र  संघर्ष हाम्रो सामु छ। यो नेपाली समाज रुपान्तरणको मौलिकता हो। रानजनीतिक संघर्षका क्रममा बाध्यात्मक विकल्पका रुपमा हिंसाको प्रयोग भएको इतिहास हाम्रो अगाडि साक्षी छ। आजका मुख्य दलहरुका आ–आफ्ना पृष्ठभूमि हेर्दा हामी त्यो पाउँछौं। विश्वको अनुभव र हाम्रो आफ्नै देशको हेर्दा पनि हामी आपसी मेलमिलप, सहकार्य र शान्तिमा र आपसी सदभावमा टेकेर अगाडि बढेका छौं’, उनले भने।

पुनले शान्ति र प्रतिस्पर्धाको राजनीतिक धार आजको यथार्यता भएको बताए। आपसी प्रतिस्धर्पामार्फत राष्ट्रिय शक्ति निर्माण हुने उनको भनाइ थियो। पुनले शान्ति प्रक्रियाका अधिकांश काम सकिए पनि संक्रमणकालीन न्यायसम्बन्धी काममा सबै दल एकै ठाउँ उभिनुको विकल्प नरहेको बताए। दलीय व्यवस्थामा कहिले सरकार र कहिले प्रतिपक्षमा रहनुलाई सामान्य रुपमा बुझ्नुपर्ने भन्दै उनले संक्रमणकालीन न्यायको राष्ट्रिय कार्यभारप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गरे।

‘राजनीतिक दलहरुबीच कहिले सहकार्य र कहिले प्रतिस्पर्धा हुनु स्वभाविक हो’, उनले भने, ‘ राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई हामी सबै मिलेर न्याय दिने र समाजमा सत्य स्थापित गर्नुपर्ने भन्नेमा सायद कसैको दुई मत हुन सक्दैन।’ मुलुकको शान्ति, स्थायित्व, विकास, सुशासन र आपसी सदभावका लागि दलहरु मात्र नभई सबै राष्ट्रिय शक्तिबीच सहकार्य हुनुपर्नेमा पुनले जोड दिए।

पुनले मुलधारका राजनीतिक दलहरुमध्ये ००७ सालपछि कांग्रेसको एउटा पक्षको वरपर शासक वर्गको उदय भएको भन्ने आरोपको सबै दलले व्यवहारबाटै जवाफ दिनुपर्ने उल्लेख गरे।

‘००७ सालपछि कांग्रेसको एउटा पक्षको वरपर शासक वर्ग जन्मियो, ०४६ को परिवर्तनले एमाले वरिपर अर्को शासक वर्ग जन्मायो र ०६३ को शान्ति प्रक्रियापछि माओवादीभित्र एउटा शासक वर्ग जन्मायो के यही हो रानजीतिक परिवर्तन भन्ने प्रश्न उठ्ने गरेको छ’, उनले भने, ‘यो प्रश्नको राजनीतिक दलहरुले र नेताहरुले पन्छाउने होइन। सकारात्मक जवाफ दिनुपर्छ।’

उनले मुलुकको विदेश नीति, शिक्षा नीति, विकास नीति र संस्कृतिसम्बन्धी नीतिमा सबै दलबीच साझा धारणा हुनुपर्ने बताए।

पछिल्लो समय मुलुकमा धार्मिक र सामाजिक सद्भाव भड्काउने खालका गतिविधि भइरहेको भन्दै उनले त्यसमा सरकार र राजनीतिक दल चनाखो हुनुपर्ने उल्लेख गरे। नेपालमा सामाजिक, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक बहुलता रहेको भन्दै पुनले त्यसलाई साझा विशेषता र पूँजीका रुपमा स्वीकार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .