ad ad

राजनीति


जब ओलीले नै उठाए एमाले प्रदेश निर्वाचनको निष्पक्षतामाथि प्रश्न

जब ओलीले नै उठाए एमाले प्रदेश निर्वाचनको निष्पक्षतामाथि प्रश्न

कोशी प्रदेश कमिटीको शपथग्रहण कार्यक्रममा केपी ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
असोज १७, २०८० बुधबार १७:२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका छन्। 

कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रलाई बुधबार विराटनगरमा सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्। 

‘यस्तो पनि निर्वाचन समिति हुन्छ? अब आइन्दा यस्तो समिति नबनाउनुस्’, उनले भने, ‘निर्वाचन समिति न्यायधीश जस्तो हुनुपर्छ। यता पनि नढल्किने उता पनि नढल्किने।’

उनले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनका क्रममा निर्वाचन समितिमा बसेकाहरुले गडबडी गरेको आरोप लगाए। 

‘यहाँको निर्वाचन मैले नजिकबाट हेरेको छु, सुनेको छु। मान्छेले केके बोले थाहा पाएको छु। यसरी निर्वाचन हुन्छ?’, उनले आक्रोशित मुद्रामा भने, ‘तर पनि निर्वाचन भयो। निर्वाचन समितिलाई धन्यवाद दिन्छु। अबदेखि निर्वाचन समितिले यस्तो काम नगरोस्, यस्तो समिति पनि नबनोस्।’

अध्यक्ष ओलीले नै कोशीको निर्वाचन समितिमाथि धावा बोलेपछि शपथग्रहणमा जम्मा भएका नेता कार्यकर्ता मुखामुख गर्न थाले। उता निर्वाचन समितिका पदाधिकारीहरु पनि ओलीले उठाएको प्रश्नबाट जिल्लिन पुगे। 

प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई बधाई दिँदै केपी ओली। तस्बिर : राजन काफ्ले

कोशीमा ओलीको सदासयता पाएका नेता घनश्याम खतिवडा नै अध्यक्षमा निर्वाचित भए। लामो समयदेखि ओलीकै गुटमा रहेका विनोद ढकाल यो निर्वाचनमा पराजित भए। 

उता निर्वाचन कमिटीका प्रमुख चूडामणि आचार्यले निर्वाचनमा कुनै किसिमको गलत काम नभएको बताएका छन्। उनले गलत नियत राखेर काम नगरिएको जवाफ दिँदै कोशीका केही नेताहरुले ओलीलाई गलत कुरा रिपोर्टिङ गरेको उल्लेख गरे।

एमाले स्रोतका अनुसार कोशी प्रदेश कमिटी निर्वाचनको मतपत्रमा निश्चित व्यक्ति तोकेर कोष्ठ बनाइएको, मतपत्र व्यवस्थित नभएको र मतगणनादेखि मतदानको लाइनसम्ममा भद्रगोल भएको कुरा ओलीलाई केही नेताले सुनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .