ad ad

राजनीति


बझाङका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर मागे भूकम्प पीडितलाई राहत

बझाङका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर मागे भूकम्प पीडितलाई राहत

नेपालखबर
असोज १८, २०८० बिहिबार ८:५२, काठमाडौँ

बझाङमा क्रियाशील राजनीतिक दलका नेताहरुले भूकम्प पीडित नागरिकलाई तत्कालै राहत उपलव्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको सर्वदलीय प्रतिनिधि मण्डलले बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै बझाङका भूकम्प पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो।

गत मंगलबार बझाङमा भूकम्प जाँदा सयौँ परिवार घरवार बिहीन भएका छन्। एकजनाको मृत्यु र झण्डै ३० जना घाइते भएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले आफू केही दिनमै भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाने जानकारी दिए। उनले राहत र उद्धारका लागि सरकारले आजै आवश्यक निर्णय गर्ने पनि बताए। 

भूकम्पले बझाङको तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात गाउँपालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठूलो क्षति भएको छ। 

भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौंको संख्यामा निजी घर भत्किएको छ। पीडित परिवारले यतिबेला सकसपूर्ण जीवन बिताइरहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने कांग्रेस नेता महरले बताए।

महरसँगै प्रतिनिधि सभा सदस्य एवम् संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी, अछामबाट निर्वाचित प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर र पुष्पबहादुर शाह, संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, बझाङको दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा, नेपाली कांग्रेस बझाङका नेता सत्यराज भण्डारी, माओवादी केन्द्रको सुदूरपश्चिम काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज पदम जोशी, नेकपा एसका नेता दिपक बहादुर बोहरा लगायतले प्रधानमन्त्रीलाई भेटेर राहतको माग गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .