ad ad

राजनीति


ओलीको कटाक्ष : कांग्रेस साँच्चै थोत्रो भएछ, ३२ सिटको पछाडि कुदेको कुद्‍यै छ

माओवादीमा बाटो एउटाले बनायो, मोटर अर्कैले कुदायो
ओलीको कटाक्ष : कांग्रेस साँच्चै थोत्रो भएछ, ३२ सिटको पछाडि कुदेको कुद्‍यै छ

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०८० बिहिबार १५:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसलाई थोत्रे पार्टीको संज्ञा दिएका छन्।

जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहसहितलाई बिहीबार पार्टी प्रवेश गराउने क्रममा उनले यस्तो बताएका हुन्। 

‘कांग्रेस साँच्चै थोत्रो भयो, साँच्चै पुरानो भयो, आफैं केही पनि गर्न नसक्ने अवस्थामा पुग्यो। केही गर्न नसकेकै कारण ८७ सिट बोकेको कांग्रेस ३२ सिट (माओवादी केन्द्र) को पछाडि लागेको छ’, उनले भने, ‘कांग्रेस अहिले निरीह भएको छ। कांग्रेस कामै नलाग्ने भएको छ।’

बुधबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबिना सत्ता चल्नै नसक्ने बताएको प्रसंगलाई कोट्याउँदै ‌ओलीले उनको नियति नै त्यही भएको टिप्पणी गरे।

‘माधव नेपालले कांग्रेसबिना चल्नै सकिँदैन भन्नु त ठीक हो। जेसुकै गल्ती गरे पनि कांग्रेसबिनाको सरकार सोच्न सकिँदैन, हामी कांग्रेसका पछि लाग्छौँ, हामी कांग्रेसकै सहारामा बाँचेका छौँ भन्नु ठीकै होला’, उनले भने, ‘माधव नेपालालई त त्यसो भन्न सुहाउँछ। किन भने १० वटा सिट हुनेले ८७ सिटको पछि लाग्नु कुनै अनौठो होइन।’ 

तर ८७ सिट बोकेको कांग्रेस ३२ सिटको पछाडि लागेर केही गर्नै नसक्ने अवस्थमा पुगेको ओलीले दोहोर्‍याए। ‘कांग्रेस चाहिँ ३२ सिटका पछाडि लागेको छ। ३२ सिटेले राम्रो काम केही पनि गरेको छैन’, उनले भने, ‘नराम्रोबाहेक केही गर्न सकेन। माओवादीका नेता कार्यकर्ताहरूसँग मेरो भेट हुन्छ, उनीहरू बहुतै पीडा पोख्छन्।’

उनले अहिले माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातागोताले रजाइँ गरेको बताए। 

‘अहिले माओवादीमा ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’, जस्तै भएको छ। माओवादी कार्यकर्ताले सरकार बनाए, तर बाटो एउटाले बनायो,  मोटर अर्कैले कुदायो’, उनले भने, ‘अहिले छोरी, ज्वाइँ, भाइ, भतिजा, भाञ्जा सबै सप्रिएका छन्। तर तमाम माओवादी कार्यकर्ता तड्पिएका छन्। तिनको योगदान र बलिदान सम्झिन पनि फुर्सद छैन सत्तासिनहरुलाई। यिनीहरुसँग कुनै नीति छैन देश बनाउने।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .