ad ad

राजनीति


डब्ल्यूएचओको क्षेत्रीय निर्देशकको उम्मेदवारी फिर्ता नलिन सरकारलाई खबरदारी

शेख हसिनाकी छोरी प्रतिस्पर्धी, अन्तर्राष्ट्रिय मञ्चमा पनि परिवारवाद भित्र्याउन खोजेको टिप्पणी
डब्ल्यूएचओको क्षेत्रीय निर्देशकको उम्मेदवारी फिर्ता नलिन सरकारलाई खबरदारी

नेपालखबर
असोज २१, २०८० आइतबार १८:२३, काठमाडौँ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्षेत्रीय निर्देशक पदका लागि दिइएको उम्मेदवारी फिर्ता नलिन सम्बन्धित क्षेत्रका विज्ञहरूले आग्रह गरेका छन्। दक्षिण-पूर्वी एसिया क्षेत्रको निर्देशकका लागि डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारी फिर्ता नलिन उनीहरूले आग्रह गरेका हुन्। 

डब्ल्यूएचओकी पहिलो महिला निर्देशक डा. रीता थापाका भनाइमा, अहिले नेपालले जुन जिम्मेवारीका लागि उम्मेदवारी दिएको छ, डब्ल्यूएचओको सन्दर्भमा यो सबैभन्दा प्रतिष्ठित कार्यालय हो।

‘किनभने, डब्ल्यूएचओअन्तर्गत सबैभन्दा पहिले दक्षिण एसिया र दक्षिण पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालय स्थापना भएको थियो’ उनले भनिन्, ‘यस कार्यालयले विगतमा नेपालमा बिफर उन्मूलनमा महत्त्वपूर्ण भूमिका खेलेको इतिहास छ।’  

यस क्षेत्रीय कार्यालयको निर्देशक पदमा डा. आचार्यले विजय हासिल गरेमा यस्तै खालका महामारीका बेला महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले पनि उनको विजय नेपालका लागि फलदायी हुन सक्ने डा. थापाले बताइन्।  

स्मरणीय छ, डब्ल्यूएचओअन्तर्गत सन् १९४८ मा दक्षिण एसिया र दक्षिण पूर्वी एसिया हेर्ने कार्यालयको स्थापना भएको थियो। 

‘यति महत्त्वपूर्ण संस्थाको गरिमा जोगाउन पनि डा. आचार्यको विजय अत्यावश्क छ,’ डा. थापाले थपिन्, ‘यस जिम्मेवारीका लागि डा. आचार्य जत्तिको अनुभवी र क्षमतावान् अर्काे उम्मेदवार छैन।’  

सार्वजनिक स्वास्थ्यका जानकार डा. बद्री पाण्डेले डा. आचार्यमा चुनौतीलाई अवसरमा बदल्न सक्ने क्षमता रहेको बताए। 

लामो समय सार्वजनिक स्वास्थ्यको क्षेत्रमा बिताएका, हाल नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा. नरेशप्रताप केसीका भनाइमा, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूमा नेपालीहरूको राम्रै उपस्थिति रहे पनि डब्ल्यूएचओमा नभएकाले क्षेत्रीय निर्देशकका रुपमा डा. आचार्यको विजय नेपालका लागि महत्त्वपूर्ण हुनेछ।  

‘योभन्दा पनि महत्त्वपूर्ण कुरा त, उहाँको विजयले यो क्षेत्रमा खोपका कार्यक्रम विस्तार हुनेछन्,’ डा. केसीले भने, ‘डब्ल्यूएचओमार्फत् सार्वजनिक स्वास्थ्यको कार्यक्रममा वृद्धि हुनेछ।’  

आगामी १ नोभेम्बरमा नयाँ दिल्लीस्थित डब्ल्यूएचको क्षेत्रीय कार्यालयमा हुने निर्वाचनमा उम्मेदवारी दिएका आचार्यको उम्मेदवारीलाई नेपालले आधिकारिक तवरमा अगाडि बढाइसकेको छ। 

दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकका लागि प्रतिस्पर्धामा रहेका डा. आचार्य चार वर्षअघि डब्ल्यूएचओको जेनेभास्थित कार्यालयको कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट विभागको निर्देशक पदमा नियुक्त भएका थिए। 

यो विभाग डब्ल्यूएचओका महासचिवअन्तर्गत रहेकाले निकै महत्त्वपूर्ण मानिन्छ। डब्ल्यूएचओअन्तर्गत यति मत्त्वपूर्ण जिम्मेवारी प्राप्त गर्ने पहिलो नेपाली पनि डा. आचार्य नै हुन्।

नेपाल परिवार नियोजन संघबाट आफ्नो व्यावसायिक जीवन सुरु गरेका डा. आचार्यले अमेरिकाको गिलिङ्स् स्कुल अफ ग्लोबल पब्लिक हेल्थ युनिभर्सिटीबाट स्वास्थ्य नीति तथा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्।  

त्यसबाहेक संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव बान कि मुनले सन् २०१६ मा डा. आचार्यलाई युएन सिस्टम स्टाफ कलेजको बोर्ड सदस्यको रुपमा मनोनयन गरेका थिए। यो जिम्मेवारी दुई वर्षका लागि थियो। 

तर, उनको कार्यक्षमता अब्बल देखिएपछि वर्तमान महासचिव एन्टोनियो गुटरेसले केही समयावधि थप गरे। यस्तो अब्बल प्रदर्शन, डब्ल्यूएचओको कन्ट्री स्ट्राटेजी एन्ट सपोर्ट विभागको निर्देशक पदमा रहेर कुशल जिम्मेवारी निर्वाह गरेको आधारमा नेपालले डा. आचार्यलाई उम्मेदवारको रूपमा अघि सारेको हो।

आगामी १ नोभेम्बरमा हुने क्षेत्रीय निर्देशकको जिम्मेवारीका लागि नेपालद्वारा प्रस्तावित उम्मेदवार डा. आचार्यलाई बंगलादेशकी साइमा वाजेदले चुनौती दिएकी छन्, जो वर्तमान राष्ट्रपति शेख हसिनाकी छोरी हुन्। 

‘डब्ल्यूएचओजस्तो संस्थामा समेत परिवारवाद लागू गर्न खोजिएको छ, त्यसैले मतदाता राष्ट्रहरूसामु राम्रो मान्छे कि हाम्रो मान्छे चयन गर्ने भन्ने दुई विकल्प छन्,’ डा. पाण्डेले भने, ‘डब्ल्यूएचओको गरिमा जोगाउने हो भने डा. आचार्यको छनोट हुनुपर्छ, किनकि दुई उम्मेदवारमध्ये उहाँ नै सक्षम र उपयुक्त हुनुहुन्छ।’ 

डब्ल्यूएचओको दक्षिणपूर्वी एसियाली कार्यालयअन्तर्गत ११ मुलुक पर्दछन्। तिनमा नेपालका अलावा बंगलादेश, भारत, भूटान, दक्षिण कोरिया, इण्डोनेसिया, माल्दिभ्स, बर्मा, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लेस्टे छन्। 

कार्यक्रममा दिइएको जानकारी अनुसार, क्षेत्रीय निर्देशक पदका लागि हुने मतदानमा सदस्य मुलुकका स्वास्थ्यमन्त्रीहरूले आ–आफ्नो मुलुकको तर्फबाट मतदान गर्नेछन्। मतदान गोप्य हुनेछ। 

त्यसो भए मतदाताको रूपमा रहेका सम्बन्धित मुलुकसँग ‘लबिङ’ गर्नुको साटो काठमाडौँमा नेपाली पत्रकारहरूलाई जम्मा गरेर किन डा. आचार्यको पक्षमा ‘लबिङ’ गरियो त? 

यसको कारण हो– बंगलादेशको प्रभावमा परेर कतै नेपालले डा. आचार्यको उम्मेदवारी त फिर्ता लिइदिने होइन भन्ने संशय। किनभने, बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले छोरी साइमा वाजेदलाई निर्विरोध गराउन लबिङ तीब्र पारेकी छन्। 

‘उनी जुनजुन अन्तर्राष्ट्रिय मञ्चमा पुग्छिन्, छोरी साइमालाई सँगै लिएर जाने र उच्च पदस्थहरूसँग भेटघाट गराउने गरेकी छन्,’ कार्यक्रमका एक आयोजक पत्रकार कनकमणि दीक्षितले भने, ‘नेपाल–बंगलादेश सम्बन्धलाई सुमधुर बनाउने बहानामा डा. आचार्यको उम्मेदवारी फिर्ता लिइदिने काम पनि हुन सक्छ।’

दीक्षितका भनाइमा, दक्षिण एसियामा भारतको यतिबेला कुनै सरकारसँग सुमधुर सम्बन्ध छ भने बंगलादेशसँग छ। ‘नेपालको सरकार पनि कम्फर्टेबल सरकार पर्यो क्यार,’ उनले थपे, ‘त्यसैले, भित्रभित्रै साँटगाँठ हुनसक्छ। त्यस्तो नहोस् भनेर घच्घच्याउने काम सबै क्षेत्रबाट हुनुपर्यो।’  

कार्यक्रममा डा. विश्वप्रकाश पराजुली, डा. भगवान कोइरालालगायतले डा. आचार्यको उम्मेदवारीलाई सफलतामा पुर्‍याउन सबै नेपालीले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .