ad ad

राजनीति


एमालेका पोलिट्ब्युरोदेखि जिल्लासम्मका यी नेता, जो मुछिए यौनकाण्डमा

न कानुनी प्रक्रिया अघि बढ्यो, न पार्टीले गर्‍यो कारबाही
एमालेका पोलिट्ब्युरोदेखि जिल्लासम्मका यी नेता, जो मुछिए यौनकाण्डमा

नेपालखबर
असोज २२, २०८० सोमबार १४:५३, काठमाडौं

नेकपा एमालेका नेता सुरतबहादुर शाहीले यौन सम्बन्धको प्रस्ताव गरेको अडिओ कल रेकर्ड बाहिरिएको छ। एमाले जिल्ला कमिटी जुम्लाका उपाध्यक्ष शाहीले भतिजी पर्ने १७ वर्षीया बालिकालाई यौन सम्बन्धका लागि प्रस्ताव गरेको रेकर्ड अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ।

नेपालको फौजदारी संहिताले १८ वर्षमुनिका नबालिगसँग सहमतिमै भएको यौनसम्बन्धलाई पनि बलात्कार मान्दछ।

सार्वजनिक भएको अढाई मिनेटको कल रेकर्डमा नेता शाहीले ती किशोरीलाई आर्थिक प्रलोभन देखाउँदै यौन सम्बन्ध राख्न दबाब दिएको सुनिन्छ।

शाहीले फोनमा शाहीले बालिकालाई भनेका छन्, ‘म लामो कुरा गर्ने छैन अहिले, पढ्ने कुरा सबै फिक्स गरेको छु। कुरा बाहिर काहीँ पनि नगर्नू, मैले भनेको कुरा त बुझ्यौ नि?’ 

बालिका : उम् बुझेँ। 
शाही : मागेको कुरा दिन्छौ नि?

बालिका : उम् दिन्छु, आउँछु म।

शाहीले फोनमा बालिकालाई ममी बिरामी भएको, दिउँसो ममीको अप्रेसन हुने र भोलि बिहान किशोरी भेट्न आएपछि सबै कुरा सिकाइदिने बताएका छन्। उनले भनेका छन्, ‘तिमीले भनेका कुरा मबाट सबै पाउँछौँ। सबै कुरा अहिले नगरम्, भोलि भेटेर गरौँला। अहिले त्यो फोटो .... पठाउनू। म्यासेज सबै डिलिट गर्दिनू।’

बालिकालाई शाहीले म्यासेन्जरमा म्यासेज पठाउँदै इन्ट्रास परीक्षामा नाम निकाल्न भनसुन गरिदिने, ट्युसन पढेको खर्च आफैँ तिरिदिने, त्यसको बदलामा ती नाबालिकाले आफूलाई यौन सम्बन्ध राख्न दिनुपर्ने माग राखेको कुराकानीबाट बुझ्न सकिन्छ। 

नेता सुरतबहादुर मात्रै होइन, नेकपा एमाले कर्णाली प्रदेशका थुप्रै नेताहरु यस्तै काण्डमा मुछिएका छन्। कतिपयलाई बलात्कारको आरोप समेत लागेको छ। नेताहरुको अश्लील भिडिओ, अडिओ सार्वजनिक भएका छन्।

यसअघि एमाले पोटिलब्युरो सदस्य मुगुका मोहन बानियाँमाथि जबरजस्ती करणीको आरोप लागेको थियो।

२०७८ माघमा नेकपा एमालेका नेता बाँनियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी थिइन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

ती शिक्षिकाले नेपालगञ्जको होटलमा बसेको बेलामा सांसद बानियाँले दुई पटक बलात्कार गरेको बताएकी थिइन्। सांसद बानियाँ र महिलाबीच आर्थिक लेनदेन नमिलेको बताइएको थियो।

यस्तै, पोलिट्ब्युरो सदस्य तथा एमाले कर्णाली प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष गुलाबजंग शाहको अशोभनीय भिडिओ पनि टिकटकमार्फत बाहिरिएको थियो।

२०७९ साल असारमा शाह र एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टीका वलीको भिडिओ सार्वजनिक भएको थियो। 

टीका वलीकै आईडीबाट अपलोड भएको ३५ सेकेन्डको भिडिओमा शाह र वली एउटै बेडमा सुतेका देखिन्छन्। शाह निदाएको जस्तो देखिन्छन् भने वलीले ‘माया जाल बुन्छु म’ भन्ने गीतमा अभिनय गर्दै शाहको गाला मुसारेकी छन्।

यस्तै, कालिकोटका एमाले नेता कुर्मराज शाहीको पनि अश्लील भिडिओ २०७८ भदौमा बाहिरिएको थियो। हाल नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका शाही त्यतिबेला कर्णालीको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए। 

भिडिओमा शाही र एक युवतीबीच यौन क्रियाकलाप भएको देखिन्थ्यो। लगत्तै उनीमाथि बलात्कारको आरोप समेत लागेको थियो।

भएन कसैलाई कारबाही
यी नेताहरुलाई लगाइएको करणीको आरोप केही समयपछि आफैँ सेलाउँदै गए। यी तीन जना नेता (बानियाँ, शाह र शाही) सार्वजनिक पदमा रहेकै समयमा उनीहरुमाथि यस्तो आरोप लागेको थियो। उनीहरुको भिडिओ समेत बाहिरिएको थियो। तर, उनीहरुमाथि कुनै कानुनी कारबाहीको प्रक्रिया चलेन।

पार्टीले समेत उनीहरुलाई कारबाही गरेन। उनीहरु अहिले पनि पार्टीको जिम्मेवारीमा बहाल छन्। शाह त प्रदेश अध्यक्षमा निर्वाचित समेत भएका छन्।

केही दिनअगाडिबाट एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीको अडिओ सार्वजनिक भएपछि पनि पार्टीले कुनै कदम चालेको छैन।

नेकपा एमाले जिल्ला कमिटी जुम्लाका अध्यक्ष शान्तिलाल महतले उपाध्यक्षमाथि लागेको आरोपबारे जानकारी पाएको बताए। 

महतले आफू जिल्लाबाहिर रहेको कारण घटनाको बारेमा सूक्ष्मरुपमा अवगत नभएको बताए। 

उनले भने, ‘म काम विशेषले नेपालगञ्ज छु। यो विषय मिडियामा आएको छ। अन्य साथीहरु पनि बाहिर–बाहिर हुनुहन्छ। मैले साथीहरुलाई बुझ्न लगाएको छु। एकदुई दिनमा म पनि जुम्ला जान्छु।’

अध्यक्ष महतले आफू जुम्ला पुगेपछि मसिनो रुपमा बुझेर घटनाको बारेमा प्रस्ट हुने र त्यसपछि बाँकी कुराहरु अगाडि बढ्ने जानकारी दिए।

यता नवनिर्वाचित एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले जिल्ला उपाध्यक्षसँग जोडिएको कुरा भएकाले जिल्लाले नै छानबिन र कारबाही गर्ने अधिकार रहेको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .