ad ad

राजनीति


सांसदहरूको प्रश्न : इजरायलमा फसेका नेपालीको उद्धार गर्न सरकारको पहल खोई?

सांसदहरूको प्रश्न : इजरायलमा फसेका नेपालीको उद्धार गर्न सरकारको पहल खोई?

फाइल फोटो


नेपालखबर
असोज २२, २०८० सोमबार १७:१३, काठमाडौँ

प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशिघ्र उद्दार गर्न सरकारसँग माग गरेका छन्।

सोमवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरेका हुन्।

उनीहरुले द्वन्द्वमा परी घाइते भएकाहरुको स्वास्थ्योपचार गर्न पनि माग गरेका छन्। प्रतिनिधि सभा सदस्यहरुले छिटोभन्दा छिटो कुटनीतिक पहल गरेर संकटमा फसेका नेपालीहरुको उद्धार गर्न सरकारको गम्भिर रुपले ध्यानाकर्षण गराएका छन्।

बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले घाइतेहरुको उपचार गर्न र नेपालीहरुलाई उद्धार गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बताए। उनले कति नेपाली प्रभावित भए भन्ने पछिल्लो विवरण संसदमा प्रस्तुत गर्न पनि सरकारसँग माग गरेका छन्।

उनले भने–‘इजरायलमा रहेका नेपालीहरुको यकिन गरी घाइते भएकाहरुलाई स्वास्थ्योपचारको व्यवस्था र नेपाल फर्काउनको निम्ति सरकारले तत्कालै युद्धस्तरमा काम गरोस्। पछिल्लो घटनाक्रम कुन खालले विकसित भइरहेको छ, झण्डै १ लाख २३ हजार बिस्थापित छन्। त्यसमध्ये नेपालीहरु कति परेका छन् त्यसको पछिल्लो विवरण संसदमा सरकारले प्रश्तुत गरोस्।’

प्रतिनिधि सभा सदस्य असिम साहले नेपालको सत्तामा रहेकाहरुलाई पनि हमासको संज्ञा दिँदै नेपालीहरु इजरायलमा आक्रमणमा पर्नुमा नेपालका हमासहरुपनि जिम्मेवार रहेका बताए। देशको साधन, स्रोतमा नेपाली हमासहरुको हालिमुहाली रहेको उल्लेख गर्दै सो अत्याचार सहन नसकेर नेपाली युवाहरु विदेशीनु परेको बताए। सरकारले इजरायली राष्ट्राध्यक्षसँग संवाद गरेर समस्या समाधान गर्नुपर्ने बताए।

प्रतिनिधि सभा सदस्य ईश्वरबहादुर रिजालले इजरायलमा फसेका नेपालीहरुको उद्धार गरी उनीहरुलाई आफ्नो देश र राज्य छ भन्ने अनुभुति गराउनुपर्ने बताए। उनले उनीहरुको प्राण बचाउन सरकारलाई आग्रह गरे।

प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारको इजरायलसँगको कुटनीतिक कमजोरी रहेको कुरा छताछुल्ल रुपमा पोखिएको बताए। उनले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रुपमा तत्काल देश फर्काउन माग गरे।

उनले भने, ‘इजरायलसित नेपालको दक्षिण एसियामै सबैभन्दा पुरानो सम्बन्ध हो, सरकारको कुटनीतिक कमजोरी छताछुल्ल ढंगले पोखिएको छ। प्रधानमन्त्री एकदम लोकप्रिय काम गर्दै हुनुहुन्छ, भिडियो कल। समवेदना। तर त्यहाँका नेपालीहरुको चाहाना के छ भने, जो संकटमा फसिरहेका छन् तत्काल यो देश फर्काइयोस्। उनीहरुलाई नेपाल फर्काइयोस् सुरक्षित रुपमा। र उपचार गर्नुपर्नेलाई उपचार गरियोस्।’

प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले इजरायलमा फसेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउन सरकारले विशेष पहल गर्नुपर्ने बताए। उनले कुटनीतिक पहल यथाशिघ्र गर्न सरकारलाई आग्रह गरे।

उनले भने, ‘बेपत्ताको खोजि र घाइतेहरुको शिघ्र उपचारको लागि सरकारसँग माग गर्दछु। स्वास्थ्य लाभको कामना गर्दछु। नेपाल आउन चाहेका नेपालीहरु जो संकटमा रहेका छन्, ति सबै नेपाली नागरिकहरुलाई नेपाल ल्याउनका लागि सरकारले विशेष पहल गरोस् भनेर सरकारसँग माग गर्न चाहन्छु। कुटनीतिक पहलमार्फत् यथाशिघ्र कार्य अगाडी बढाओस्।’

शर्माले इजरायलको युद्धक्षेत्रमा शान्ति स्थापनाको लागि आफ्नो भुमिका नेपालले खेलोस् भन्ने अपेक्षापनि व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .