ad ad

राजनीति


राष्ट्रसंघका महासचिव शुक्रबार नेपाल आउँदै, पोखरा र लुम्बिनी घुम्ने

राष्ट्रसंघका महासचिव शुक्रबार नेपाल आउँदै, पोखरा र लुम्बिनी घुम्ने

नेपालखबर
असोज २२, २०८० सोमबार १७:४३, काठमाडौँ

इजरायल–हमास द्वन्द्वका कारण विश्व राजनीतिमा नाटकीय परिवर्तन नआए संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले चार दिनपछि नेपाल भ्रमण गर्ने भएका छन्। 

महासचिव गुटरेसले आगामी शुक्रबारदेखि सोमबार (२६–२९ असोज) सम्म नेपालको चार दिने भ्रमण गर्न लागेका हुन्। इजरायल–हमास द्वन्द्ले अप्ठेरो स्थिति सिर्जना भए पनि उनको नेपाल भ्रमण हुनेमा सरकारी अधिकारीहरु विश्वस्त छन्। 

‘इजरायल–हमास द्वन्द्व कसरी अघि बढ्छ, त्यो एकिन छैन, तर त्यति जटिल स्थिति सिर्जना नहोला भन्ने आकलन छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसैले, हामी उहाँको भ्रमणको तयारीमा लागिरहेका छौँ।’  

मन्त्रालय स्रोतका अनुसार महासचिव गुटरेस शुक्रबार अपरान्हतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछन् र सोमबार बिहान नेपालबाट प्रस्थान गर्नेछन्। 

उनी काठमाडौँमा उडान गरिरहेको कुनै अन्तर्राष्ट्रिय विमान कम्पनीको नियमित उडानबाटै काठमाडौँ आइपुग्नेछन्। चार दिने नेपाल भ्रमणका क्रममा तीन पर्यटकीय स्थानको भ्रमण गर्ने योजना बनाइए पनि दुई स्थानमा मात्र उनको भ्रमण हुने सम्भावना छ। 

लुम्बिनी र पोखरा पक्का 
प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्डबाहेक राष्ट्रसंघका ६ पूर्वमहासचिवले नेपालको भ्रमण गरेका छन्। सबै महासचिवहरुको भ्रमणमा एउटा समानता छ। त्यो हो– नेपाल भ्रमणको क्रममा उनीहरु बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने गरेका छन्। 

संयुक्त राष्ट्रसंघ विश्वमा शान्ति स्थापनाका लागि गठन गरिएको सर्वमान्य अन्तर्राष्ट्रिय संस्था भएको र बुद्धको शिक्षा पनि शान्ति स्थापनासँग सम्बन्धित भएकाले भ्रमणमा आउने महासचिवहरुलाई नेपालले लुम्बिनी पुर्याउने गरेको छ। 

अर्काे संयोग के पनि छ भने नेपाल भ्रमण गर्ने पहिलो महासचिव (राष्ट्रसंघका तेस्रो महासचिव) उ थान्त बौद्ध धर्मावलम्बी बहुल बर्माका नागरिक मात्र होइन, आफै बौद्ध धर्मावलम्बी पनि थिए। 

उनको नेपाल भ्रमणपछि नै नेपालले लुम्बिनी विकासको गुरुयोजना तयार गर्न सुरु गरेको थियो। उ थान्त  लगायत आफ्ना पूर्वज महासचिवहरुको पदचाप पछ्याउँदै महासचिव गुटरेसपनि लुम्बिनी जानेछन्। 

महासचिव गुटरेसलाई बुद्ध जन्मस्थल लुम्बिनीका अलावा पर्यटकीय नगरी पोखराको पनि भ्रमण गराउने योजना नेपाल सरकारले बनाएको छ। नेपाल आउने सबैजसो महासचिवले लुम्बिनी भ्रमण गरे पनि अक्सरले पोखरा भ्रमण भने गरेका छैनन्। 

माउन्टेन फ्लाइटबाट सगरमाथा अवलोकन
जलवायु परिवर्तनसँगै वृद्धि भएको तापमानले सबैभन्दा बढी असर नेपाल लगायत अन्य मुलुकका हिमाली क्षेत्रको पर्यावरणमा परेकाले यो मुद्दालाई नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राथमिकताका साथ उठाउँदै आएको छ। 

विश्व तापमानमा भएको वृद्धिले हिमाली क्षेत्रमा पारेको असरको प्रत्यक्ष अवलोकनका लागि महासचिव गुटरेस सगरमाथा क्षेत्रको भ्रमणमा पनि जाने योजना बनाइएको थियो।

स्रोतका अनुसार यस अन्तर्गत महासचिव गुटरेसलाई सगरमाथाको फेदी कालापत्थरसम्म पुर्याइने योजना थियो। जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यान आकृष्ट गर्न माधव नेपाल प्रधानमन्त्री छँदा त्यहाँ मन्त्रिपरिषदको बैठक समेत आयोजना गरिएको थियो। 

महासचिव गुटरेसलाई कालापत्थरसम्म पुर्याउने योजना बनाइए पनि त्यसलाई अहिले स्थगित गरिएको छ। जाडोको सुरुवात भइसकेकाले मौसम प्रतिकूल हुनसक्ने आकलनका साथ सगरमाथाको फेदीसम्म भ्रमण गराउने योजना स्थगित गरिएको हो। 

तर सगरमाथा लगायत नेपाली हिमश्रृङ्खलाहरुको अवलोकन भने महासचिव गुटरेसले गर्नेछन्। 

‘अहिलेसम्मको योजना अनुसार माउन्टेन फ्लाइटबाट भए पनि उहाँले नेपालका मनोरम हिमश्रृङ्खलाहरुको अवलोकन गर्नुहुनेछ,’ स्रोतले भन्यो, ‘उहाँ यसका लागि इच्छुक पनि हुनुुहुन्छ।’ 

महासचिव गुटरेस प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन्। संयुक्त राष्ट्रसंघीय महासभा र त्यसअघिका भेटहरुमा पनि प्रधानमन्त्री प्रचण्डले उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .