ad ad

राजनीति


गैरआवासीय नेपालीबाट देशले धेरै अपेक्षा गरेको छ : प्रधानमन्त्री

गैरआवासीय नेपालीबाट देशले धेरै अपेक्षा गरेको छ : प्रधानमन्त्री

नेपालखबर
असोज ३०, २०८० मंगलबार ९:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरुबाट देशले धेरै अपेक्षा गरेको बताएका छन्। 

आज बिहान बालुवाटारमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) लाईहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्दै प्रधामन्त्री प्रचण्डले देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने बताए। 

उनले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताए। ‘त्यसकै बलमा तपाईहरूले आज गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुभएको छ,’ उनले भने, ‘यो तपाईंहरुले प्राप्त गरेको संवैधानिक अधिकार पनि हो।’ 

प्रधानमन्त्री प्रचण्डले गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र बद्री केसीलाई पहिलो गैरआवासीय नेपाली नागरिकता दिएर यो कार्यको थालनी गरेका हुन्। 

गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ :

१. गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा संसारभरिबाट आउनुभएका एनआरएन साथीहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछु । दशैं, तिहार, नेपाल संवत्, छठ लगायत सबै चाडपर्वहरूको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। 

२. गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन समयमा सम्पन्न हुन नसकी संघभित्र केही विवाद र असहमतिहरू रहे । विमतिहरूमाथि गम्भीर समीक्षा गरी संघलाई एकतावद्ध बनाउन प्रधानमन्त्री हुँदा होस् वा पार्टी अध्यक्षको हैसियतले, मैले महत्वपूर्ण भूमिका खेलेको छु, त्यसको यहाँ स्मरण गर्न चाहन्छु।

३. नेपालको संविधानमा गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न मैले निकै ठूलो संघर्ष र पहल गरेको छु । त्यसकै बलमा तपाईहरूले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात् पनि कानुनी व्यवस्था गर्न हामीले फेरि अर्को संघर्ष  गर्नुभयाे। निकै ठूलो संघर्ष र मेहेनतपछि हामीले सफलता हासिल गरेका छौं । पचासौं लाख गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ, यो निकै ठूलो उपलब्धी हो। 

४. मेरो नेतृत्वमा नयाँ सरकार बन्नासाथ सरकारले सम्माननीय राष्ट्रपतिज्यूलाई नागरिकता विद्येयक सदर गर्न आग्रह  गर्‍याे। सम्मानीय राष्ट्रपतिज्यूबाट सदर भएपछि उक्त विधेयक कानुनमा परिणत भएको छ, नियमावली बनेको छ।
 
५. मैले भर्खरै संघका अध्यक्ष कुल आचार्य र बद्री केसीजीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेको छु । यस अवसरमा कुलजी लगायत तपाईं सबै साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु । मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ।

६. गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेका छौं । नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रू. ५ करोडबाट घटाएर रू. २ करोड कायम गरेको छ । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइएको छ । यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम भएको छ जस्तो लाग्छ । अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू यो अभियानमा आबद्ध भइसक्नुभएको छ । आगामी दिनमा यो संख्या अरु बढ्ने हाम्रो विश्वास छ । यसमा संस्थागत रूपमा सहयोग गर्न पनि म गैरआवासीय नेपाली संघलाई आग्रह गर्दछु । तपाईंहरूले देखाउनुभएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस्। 

७. संसारभरि रहेका नेपालीहरू नेपालका गैरआवासीय दूतहरू हुनुहुन्छ । नेपालले तपाईंहरूबाट धेरै अपेक्षा गरेको छ । नेपाल सरकारले संघको स्थापनाकालदेखि नै संघसँग सहकार्य गर्दै आएको छ । तपाईंहरूले नीति तथा वक्तव्यमा समावेश गरियोस् भनेर विभिन्न सुझावहरू दिनुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गैरआवासीय नेपालीहरू लक्षित विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ।

८. अन्त्यमा गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकतावद्ध संघ र बलियो नेतृत्व छनोट गर्नेछ, तपाईहरू थप एकतावद्ध भएर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै आउँदै गरेका पर्वहरू विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायतको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .