ad ad

राजनीति


प्रचण्डको विश्लेषण : पार्टी उकालो लाग्यो, गुट अन्त्य भयो

प्रचण्डको विश्लेषण : पार्टी उकालो लाग्यो, गुट अन्त्य भयो

नेपालखबर
कात्तिक १५, २०८० बुधबार २०:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट अन्त्य भएर पार्टीमा आकर्षण बढ्न थालेको बताएका छन्।

माओवादीमा पछिल्लो चरण जनताको रुचि बढ्दै गएको, संगठन निर्माण राम्रो भएको रिपोर्ट पाइएको प्रचण्डले सुनाए।

बुधबार पार्टीको बागमती प्रदेश, विशेष प्रदेश समिति र सम्पर्क प्रदेश समितिको संयुक्त बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले रूपान्तरण अभियान, सरकारमा रहेर गरिएका राम्रा कामले माओवादीप्रति आकर्षण र जनविश्वास वृद्धि भएको दाबी गरे।

‘साथीहरू गुटले पार्टी बन्दैन भन्ने निष्कर्षमा पुगेर तलैसम्म खटिनुभएको छ, यसले माओवादी पार्टीमा सकारात्मक पारिणाम देखाएको छ,’ प्रचण्डले राखेको भनाइ उद्‌धृत गर्दै बागमती प्रदेश समितिका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘रूपान्तरण अभियानलाई नेता-कार्यकर्ताले गम्भीरता साथ लिएकाले फिल्डमा माओवादी चलायमान देखियो।’ उनले माथि रहेको गुट कम भएको पनि बताए।

‘माओवादी सलबलाएको कुरा मलाई विपक्षी साथीहरूले भन्ने गर्नुभएको छ,’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले थपे‍, ‘हेडक्वार्टरमा विपक्षीहरूको पनि रिपोर्ट आउँछ, उनीहरूको कुरा पनि अहिले माओवादी सलबलाएको भन्ने नै छ ।’

प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीप्रति जनतामा बढेको विश्वास जगाउन सरकारले अझै काम गर्नुपर्ने बताए।

त्यही भएर जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमको समय थप गर्न प्रचण्डले प्रस्ताव राखे।

उक्त प्रस्ताव बिहीबार बस्ने माओवादी सचिवालय बैठकले पारित गर्नेछ।

माओवादीले भदौ १६ देखि कात्तिकसम्म घोषणा गरेको अभियानमा देशभरका सात हजार बढी वडामा शीर्षसहितका नेता पुगेका थिए।

अब थप एक महिना अभियान निरन्तर कायम राख्न प्रचण्डको प्रस्ताव छ। उनले नेताहरूलाई ‘इफ बट’ नगर्न निर्देशन दिए।

‘झण्डै पाँच/सात पटक अध्यक्षज्यूले इफ बट नगर्न भन्नुभयो,’ ती नेताले भने, ‘अब जनताको विश्वास जित्नुपर्छ। पछिल्ला दिन सामाजिक सञ्जालमा नकारात्मक धारणा मात्र फैलिएको विषयमा म गम्भीर छु। यसको नियमन गर्नै पर्छ।’

माओवादी केन्द्रले गणतन्त्र, संघीयता, समानुपातिक/समावेशी लगायतका व्यवस्था रहेको संविधान जोगाउन कात्तिक २२ गते लाख बढी मानिस उतारेर जनप्रदर्शन गर्ने भएको छ।

माओवादी एक्लैले गर्ने सो प्रदर्शन रूपान्तरण अभियानकै एक स्वरुप भएको माओवादी महासचिव देवप्रसाद गुरुङले दाबी गरे।

लाख बढी मानिसको व्यवस्थापन लगायतको विषय बिहीबार टुंगो लाग्नेछ।

एक नेताले नेपालखबरलाई बताएअनुसार एक लाख मानिस परिचालन गर्ने तयारी छ।

उनीहरूले प्रदर्शन गर्नेछन्। प्रचण्डले बैठकमा कांग्रेस र एमालेसहित गणतन्त्र पक्षधरहरूबीच नयाँ खालको मोर्चा बनाएर प्रदर्शन गर्ने पनि जानकारी गराए।

‘मैले आज बिहान मात्र पनि कांग्रेस सभापति शेरबहादुरजी, एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग छलफल गरेको छु,’ प्रचण्डको भनाइ उद्‌धृत गर्दै माओवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘केही मानिसले यो व्यवस्थाका विरुद्ध शक्ति प्रदर्शन गरिरहेका छन्, नयाँ दलका नाममा विभिन्न गतिविधि भइरहेका छन्। यसमा मौन बस्दा अरूले टाउको उठाउँछन सक्छन्।’

‘अब गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताका विषयमा व्यापक जनपरिचालन गर्नुपर्छ। प्रतिस्पर्धा भए पनि यो व्यवस्थाको पक्षधरबीच हुन्छ।’

उनले अहिलेसम्म यो सरकार ढाल्न विभिन्न षड्यन्त्र भएको पनि बताए।

‘अहिलेसम्मको षड्यन्त्र परास्त गरिएको छ तर अझै ढुक्क हुने अवस्था छैन,’ प्रचण्डको भनाइ छ, ‘थप मिहेनत गरौँ, यही बेला पार्टी बलियो भएको छ।’

१० वर्षको जनयुद्धमार्फत शान्ति प्रक्रियामा आएको माओवादीले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ कूल सिट स‌ंख्याको आधा ल्याएको थियो।

तर, दोस्रो संविधान सभाको चुनावदेखि निरन्तर खुम्चिएको माओवादी गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जम्मा ३२ सिटमा खुम्चन पुगेको छ।

पार्टीभित्रको गुट, पार्टी विभाजन, नेताले कार्यकर्तालाई गरेको बेवास्ता लगायतका कारण पार्टी कमजोर भएको निष्कर्षमा पुगेर प्रचण्डले भदौ १६ देखि रूपान्तरण अभियान राखेर नेतालाई गाउँगाउँ खटाए र उनी पनि होमिए।

यही अवधिमा पार्टी कमजोर बन्नुको कारण ‘गुट–उपगुट र जनतालाई गरिएको बेवास्ता’ भन्ने निचोड निस्किएको प्रचण्डको भनाइ छ।

माओवादीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै अभियान चलाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .