प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यको ध्यान अझै पनि विज्ञान प्रविधिको विकासमा पुग्न नसकेको बताएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कुलपतिसमेत रहेका प्रचण्ड ४६ औँ प्राज्ञसभालाई बिहीबार बालुवाटारमा सम्बोधनका क्रममा यस्तो बताएका हुन्।
४० वर्षमा जम्मा ४ अर्बको बजेटबाट गरिएका विज्ञान, प्रविधि र प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय रहे पनि ती अझै पर्याप्त नभएका दाहालले बताए।
‘राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्द्रित हुन सकेको छैन, प्राज्ञिकहरूको सुझाव र सल्लाह एवम् बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तनसम्बन्धी विधेयकअनुसार देशको रूपान्तरका लागि हातेमालो गर्दै काम गर्दै जान निर्देशित गर्दछु’, उनले भने, ‘देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक छु।’
उनले चीन भ्रमणका क्रममा विज्ञान तथा प्रविधिको विकासका लागि पनि आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा त्यहाँका समकक्षी र अन्य नेताहरूसँग कुरा भएको पनि उनले बताए।
त्यसका लागि नेपाललाई विज्ञान प्रविधिको विषय विधामा बढी जोड दिनुपर्नेमा त्यसो नभएको उनले बताए। ‘यसको स्पष्ट अवधारणापत्र भएमा सहकार्यका लागि उचित पहल सरकारले गर्नेछ’, उनले भने, ‘यसर्थ, वैज्ञानिकहरूले देशको आवश्यकतालाई समेट्ने परियोजना प्रस्तावहरू तयार गर्न जागरूक हुन आग्रह गर्दछु।’
उनले आफू पनि पनि विज्ञानको विद्यार्थी भएको नाताले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र योगदानबारे अनभिज्ञ नरहेको बताए।
‘नवप्रवर्तनलाई प्राथमिकता दिई स्वदेशी प्रविधिको विकासमा धेरै काम गर्न नसके पनि अभिलेखीकरण गर्न र त्यसैको लागि केन्द्रित प्रयोगशाला स्थापनाको लागि गरेका प्रयास अनुकरणीय छन्’, उनले भने, ‘नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्नुपर्ने आजको आवश्यकतालाई आत्मसाथ गर्दै सरकारले नास्टमार्फत नानो स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। भारतीय अन्तरीक्ष अनुसन्धान संस्था (इस्रो) को सहकार्यमा मुनाल स्याटेलाइट प्रक्षेपण गर्ने तयारीमा युवा वैज्ञानिकलाई समेट्दै अन्य संघ-संस्थासँग सहकार्यमा वैज्ञानिकहरू जुट्नुभएको थाहा पाउँदा खुशी लागेको छ।’
Shares
प्रतिक्रिया