ad ad

राजनीति


एमाले केन्द्रीय कमिटी बैठक : मंसिर ७ को विषयले पाउला प्रवेश?

यस्ता छन् बैठकका एजेन्डा
एमाले केन्द्रीय कमिटी बैठक : मंसिर ७ को विषयले पाउला प्रवेश?

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार २१:३९, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार (भोलि) बस्दै छ। युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा यो बैठक बस्न लागेको हो।

मंसिर ७ गते युवा संघका इन्चार्जसमेत रहेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको नेतृत्वमा काठमाडौंमा प्रदर्शन हुँदै छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको प्रतिवादमा एमालेले प्रदर्शन गर्न लागेको हो।

प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी विभिन्न व्यक्तिगत आरोपहरूसमेत लगाइरहेका छन् र प्रदर्शनको एजेन्डासमेत यसैलाई बनाएका छन्। त्यसैले एमालेको बैठक र ओलीको प्रस्तुतिलाई चासोका साथ हेरिएको छ।

हुन त एमालेले बुधबार बस्न लागेको बैठकलाई नियमित र पूर्वनिर्धारित भनेको छ। तर, यो बैठकमा मंसिर ७ गते काठमाडौंमा हुन लागेको प्रदर्शनको बारेमा पनि चर्चा हुनसक्ने एक शीर्ष नेताले बताए। 

‘यो पार्टीको नियमित बैठक हो, यसका एजेण्डा पहिले नै तय भइसकेका छन्,’ ती नेताले मंगलबार साँझ नेपालखबरसँग भने, ‘तर, मंसिर ७ को विषय बीचमा आयो। त्यहाँ केही सदस्यले यसबारे प्रश्न गर्न सक्ने सम्भावना छ।’

एमाले केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल भने भोलिको बैठकमा अहिले पार्टीको सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्धनका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका विषयमा छलफल हुने बताउँछन्। रिजाल भन्छन्, ‘पार्टीले जुन मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाटदेखि चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अभियान अघि सारेको छ, त्यसैको तयारीबारे छलफल हुनेछ।’ 

उनका अनुसार, यो बैठक भोलि (बुधबार) नै सकिनेछ। 

समसामयिक विषयमा ओलीको प्रतिवेदन
रिजालका अनुसार, बैठकमा अध्यक्ष ओलीले एक प्रतिवेदन प्रस्तुत गर्नेछन्। पछिल्लो समसामयिक राजनीतिका विषयमा केन्द्रित उक्त प्रतिवेदनमाथि केहीबेर छलफल हुनेछ।

‘देशको पछिल्लो राजनीतिक गतिविधि लगायतका समसामयिक विषयमा भोलिको बैठकमा अध्यक्षज्यूले एक प्रतिवेदन पेस गर्नुहुन्छ,’ रिजालले नेपालखबरसँग भने, ‘सो प्रतिवेदनमाथि केहीबेर छलफल होला।’ 

यसबाहेक अन्य केही छलफलका एजेन्डा नभएको उनले बताए। 

मंसिर १४ बाट विशेष अभियान 
एमालेले मध्यपहाडी लोकमार्गमा तीन साता लामो विशेष अभियान सञ्चालन गर्दै छ। मंसिर १४ गते अभियान सुरु हुनेछ।

मध्यपहाडी क्षेत्रको विकासका विषयमा छलफल गर्नका लागि यो अभियान सञ्चालन गर्न लागिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। 

अभियानको सुरुआत मंसिर १४ गते बिहान साढे ८ बजे पश्चिमी नाका झुलाघाटमा गरिनेछ। अभियान पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षमा प्रवेश गर्दा पुष्पलाल श्रेष्ठसँग जोडिएको मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गर्ने तय भएको एमालेले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .