ad ad

राजनीति


‘मंसिर ७’को अघिल्लो दिन आज एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

‘मंसिर ७’को अघिल्लो दिन आज एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेपालखबर
मंसिर ६, २०८० बुधबार ७:४३, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ। युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बस्न लागेको हो।

बैठक एमालेको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बताइएको छ।

भोलि मंसिर ७ गते युवा संघका इन्चार्जसमेत रहेका एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम छ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको प्रतिवादमा उक्त प्रदर्शन गर्न लागिएको हो। 

यसै क्रममा एमालेको भ्रातृ संगठन युवा संघले मंगलबार साँझ काठमाडौँमा मसाल जुलुस पनि गरेको छ। 

प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गरी व्यक्तिगत रूपमा विभिन्न आरोप लगाइरहेका छन् र प्रदर्शनको एजेन्डासमेत यसैलाई बनाएका छन्। त्यसैले आज बस्न लागेको एमालेको केन्द्रीय कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ।

हुन त एमालेले आज बस्न लागेको बैठकलाई नियमित र पूर्वनिर्धारित भनेको छ। तर, यो बैठकमा मंसिर ७ गते काठमाडौँमा हुन लागेको प्रदर्शनका विषयमा पनि चर्चा हुनसक्ने एमालेका एक शीर्ष नेताले बताएका छन्।  

‘यो पार्टीको नियमित बैठक हो, यसका एजेन्डा पहिले नै तय भइसकेका छन्,’ ती नेताले मंगलबार साँझ नेपालखबरसँग भने, ‘तर, मंसिर ७ को विषय बीचमा आयो। त्यहाँ केही सदस्यले यसबारे प्रश्न गर्न सक्ने सम्भावना छ।’

एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल भने बैठकमा पार्टीले सञ्चालन गर्न लागेको सामाजिक सद्‌भाव र राष्ट्रिय एकता प्रवर्द्धनका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका विषयमा छलफल हुने बताउँछन्। उनले भने,  ‘पार्टीले जुन मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाटदेखि चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अभिया!न अघि सारेको छ, त्यसैको तयारीबारे छलफल हुनेछ।’ 

ओलीले प्रतिवेदन पेस गर्ने
केन्द्रीय सदस्य रिजालका अनुसार बैठकमा अध्यक्ष ओलीले एक प्रतिवेदन प्रस्तुत गर्नेछन्। समसामयिक राजनीतिका विषयमा केन्द्रित प्रतिवेदनबारे केहीबेर छलफल हुने उनको भनाइ छ। 

मंसिर १४ देखि विशेष अभियान 
एमालेले मध्यपहाडी लोकमार्गमा तीन साता लामो विशेष अभियान सञ्चालन गर्दै छ। मंसिर १४ गते अभियान सुरु हुनेछ।

मध्यपहाडी क्षेत्रको विकासका विषयमा छलफल गर्नका लागि यो अभियान सञ्चालन गर्न लागिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। 

अभियानको सुरुआत मंसिर १४ गते बिहान साढे ८ बजे पश्चिमी नाका झुलाघाटमा गरिनेछ। अभियान पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षमा प्रवेश गर्दा पुष्पलाल श्रेष्ठसँग जोडिएको मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गर्ने तय भएको एमालेले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .