ad ad

राजनीति


भूकम्पले क्षति पुर्‍याएको भवनलाई ‘रेट्रो फिटिङ’ गरेर सारियो प्रधानमन्त्री कार्यालय (तस्बिरहरू)

नयाँ भवनमा सरेपछि प्रधानमन्त्रीले भने– पहिलाको ठाउँ गुम्म थियो, यहाँ फ्रेस भएँ
भूकम्पले क्षति पुर्‍याएको भवनलाई ‘रेट्रो फिटिङ’ गरेर सारियो प्रधानमन्त्री कार्यालय (तस्बिरहरू)

नयाँ भवनमा सरेपछि जानकारी लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (तस्बिर : प्रधानमन्त्रीको सचिवालय)


नेपालखबर
मंसिर ६, २०८० बुधबार १४:५०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

बुधबार सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले रकारका कामकारबाही अब ढंगबाट अघि बढाउने बताएका हुन्। 

०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई ‘रेट्रो फिटिङ’ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सारिएको हो।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महसुस गरेको पनि बताए।

‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ। यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु। १२० वर्ष पुरानो यो भवनलाई त्यसको मुल संरचना जस्ताको त्यस्तै राखेर अहिले भूकम्पबाट जुन क्षति भएको थियो, त्यसको पुनःनिर्माण भएको छ,’ उनले भने।

साथै, उनले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै अब ताजा भइ काम गर्न पाएको महसुस भएको पनि बताए। 

‘मलाई कता–कता अहिले भइरहेको ठाउँमा बस्दा गुम्म परेको, त्यति फ्रेस नहुने जस्तो लाग्थ्यो, यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु। नयाँ शुभारम्भले नयाँ गति पक्रिने र हाम्रो एकता अझ बलियो हुनेछ।’

नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने उनको भनाइ छ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको  प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताइन्। उनले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको पनि बताइन्। 

‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको छ। बाँकी नसकिएको भनेको इन्टेरियरको संरचना बनाउनु पर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन कि भन्ने देखिन्छ, तर जुन ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने भन्नेकुरा सम्पन्न भएको छ,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .