मेडिकल व्यवसायी दुर्गा प्रसाईँको अगुवाइमा आज काठमाडौँमा हुन लागेको प्रदर्शनपछिको कार्यक्रम सम्बोधनका लागि तीन वक्ता तय भएका छन्।
अहिलेसम्मको सल्लाहअनुसार दुर्गा प्रसाईँ, केशव पोखरेल र रमा सिंहले सम्बोधन गर्ने तय भएको प्रसाईँको सचिवालयले जनाएको छ। तर, अन्तिम निर्णय भने कार्यक्रमस्थलमै हुने संगठन एवं कार्यक्रम प्रमुख हरि कार्कीले नेपालखबरलाई जानकारी दिए।
प्रसाईँ र सिंह जनता बचाऊ अभियानका अध्यक्षमण्डलका सदस्यका हुन्। सिंह पूर्वसञ्चारकर्मी पनि हुन्।
अभियानको अध्यक्षमण्डलमा दुर्गा प्रसाईँ, हरि कार्की, ईशा खड्का, राजु पनेरु, आनन्द प्याकुरेल, प्रदीप लिम्बू र रमा सिंह छन्।
सुरुमा ९ सदस्यीय अध्यक्षमण्डल बनाइए पनि पछिल्लो समय केन्द्रीय नेतृत्वमा विवाद बढेपछि दुईजनालाई कारवाही गरेर निकालिएको थियो।
आजको कार्यक्रममा सम्बोधन गर्ने विषयमा पनि अध्यक्षमण्डलमा निकै बहस भएको थियो। केहीले अध्यक्षमण्डलका सबैले बोल्न पाउनुपर्ने माग गरेका थिए। ८ जनासम्मले बोल्न सक्ने गरी मोटामोटी समझदारी गरिएको थियो। तर, प्रसाईँ र उनको ‘कोर टिम’ले भने सबैले बोल्नु आवश्यक नरहेको जिकिर गरेको थियो।
बुधबार राति अबेरसम्म पनि कसले सम्बोधन गर्ने भन्ने यकिन भइसकेको थिएन। आज बिहान मात्र तीन जनाको नाम टुंग्याइएको अध्यक्षमण्डलका एक सदस्यले जानकारी दिए।
Shares
प्रतिक्रिया