राजतन्त्र फर्काउने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं सडकमा शक्ति प्रदर्शन गर्दै छन्। उनका समर्थकहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँगै प्रसाईंको तस्बिर राखेर सडकमा जुलुस गरिहेका छन्।
के प्रसाईंका गतिविधिमा पूर्वराजपरिवारको प्रत्यक्ष साथ र सहयोग छ त? यस प्रश्नको स्पष्ट जवाफ न प्रसाईं पक्षधरले दिएका छन्, न शाह परिवारले नै सार्वजनिक जानकारी गराएको छ।
गत फागुन १ गते प्रसाईंले ‘नागरिक बचाउ महाअभियान’ उद्घाटन गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका थिए।
मेचीनगर–६, प्यारीभिट्टास्थित बसपार्कमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान उद्घाटनका नाममा गरिएको कार्यक्रममा पूर्वराजा शाहसँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस शाह, पूर्वराजकुमारी शीताष्मा शाहले सहभागिता जनाएका थिए।
मञ्चमा पूर्वराजपरिवारसँगै अभियानका संयोजक प्रसाईं पनि लहरै बसेका थिए। कार्यक्रमको उद्घाटन गरेका पूर्वराजा शाहले सम्बोधन भने नगरी हिँडेका थिए।
त्यसपछि प्रसाईं हालको संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने र राजतन्त्र फर्काउने भनेर देशका विभिन्न ठाउँ पुगेका थिए। त्यसक्रममा उनले आफ्नो अभियान सफल भएमा २० लाखसम्मको ऋण मिनाहा गराउने प्रलोभनसमेत बाँडिरहेका थिए।
अहिले देशका विभिन्न भागबाट समर्थक बोलाएर काठमाडौँको बल्खुमा भेला गरिहेका छन्। यस प्रदर्शनलाई लिएर स्वयं पूर्वराजाले चाहिँ कसरी लिएका छन् त?
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणिराज पाठकसँग नेपालखबरको संवाद :
प्रश्नः आज (मंसिर ७ गते) राजा फर्काउने भनेर प्रदर्शन भइरहेको छ। के छ पूर्वराजाको बुझाइ?
पाठकः हेरौँ, केकसो हुन्छ।
प्रश्नः आजको कार्यक्रमका लागि कुनै सन्देश छ कि?
पाठकः त्यस्तो कुनै सन्देश छैन।
प्रश्नः पूर्वराजा कहाँ हुनुहुन्छ?
पाठकः यहीँ, काठमाडौँमै।
प्रश्नः निर्मलनिवासमा?
पाठकः हो।
प्रश्नः प्रसाईंको अभियान उद्घाटनमा त पूर्वराजपरिवारको उपस्थिति देखिएको थियो नि?
पाठकः अहिले यसबारे नबोलौँ।
प्रश्नः प्रसाईंको टोलीसँग केही कुरा त भइरहेको होला नि?
पाठकः तत्काल त्यस्तो केही छैन।
प्रश्नः मान्छे त राम्रै भेला पारेको देखिन्छ। यसबाट पूर्वराजा उत्साहित हुनुहुन्न?
पाठकः हेर्दै जाऊँ न, केके हुन्छ।
Shares
प्रतिक्रिया