ad ad

राजनीति


‘सोनिया गान्धीलाई पशुपतिमा पस्न नदिएपछि भारतीय नाकाबन्दी’

‘सोनिया गान्धीलाई पशुपतिमा पस्न नदिएपछि भारतीय नाकाबन्दी’

राजीव र सोनिया गान्धी


नेपालखबर
मंसिर ९, २०८० शनिबार १५:२६, काठमाडौँ

२०२७ भदौ २३ देखि २५ सम्म जाम्व्यिाको राजधानी लुसाकामा असंलग्न आन्दोलनमा संलग्न राष्ट्रहरुको तेस्रो सम्मेलन थियो। ५२ देशका राष्ट्राध्यक्ष सहभागी सम्मेलनमा १२ वटा देशले पर्यवेक्षकको रुपमा भाग लिएका थिए। राजा महेन्द्रको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डल सम्मेलन कक्षमा प्रवेश भइसकेको थियो। सम्मेलनमा एकदिन ढिला आइपुगेकी भारतीय प्रधानमन्त्री दोस्रो दिन सभा सुरु भइसकेपछि हलमा आइन्।

तर, इन्दिरा गान्धी आफ्नो सिटतिर नगएर सरासर टोपी लगाएका नेपाली प्रतिनिधिहरु बसेको ठाउँतिर लागिन्, हात मिलाइन। टोली प्रमुख राजा महेन्द्र ठूलो कुर्सीमा बसेका थिए। गान्धीले ‘योर म्याजेस्टी’ भन्दै राजाका अगाडि हात बढाइन्। राजाले कुर्सीमै बसेर हात मिलाए।

अफ्रिकाका लागि भारतका राजदूत नटवरसिंह थिए। उनले नेपालबाट सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलका सदस्य अर्थसचिव डा. भेषबहादुर थापालाई बोलाएर भने– ‘तिम्रो राजा बडो अशिष्ट रहेछन्। प्रधानमन्त्रीभन्दा माथि राजा भए पनि महिला भएका नाताले कुर्सीबाट उठेर हात मिलाउनुपर्थ्यो। यो अभद्र व्यवहार भयो।’ 

थापाले नटवरसिंहको गुनासो राजालाई सुनाइदिए। राजा महेन्द्रको जवाफ थियो– ‘यत्रो ठूलो कुर्सी राखिदिएका रहेछन्, मैले पछाडि धकेल्नै सकिनँ। म उठ्न सकिनँ।’

यो घटनालाई लिएर भारतीय प्रतिनिधिमण्डलका सदस्यले ठूलो हङ्गामा गरे। त्यतिबेला भारतसँग नेपालको सम्बन्ध चिसिएको हुनाले राजा महेन्द्रका निम्ति असंलग्न सम्मेलनभन्दा पनि इन्दिरा गान्धीसँग खुलस्त वार्ता गर्ने वातावरण मिलाउनु पहिलो प्राथमिकता थियो। भारतले पञ्चायती व्यवस्थालाई अनुमोदन नगरी अड्को थापिरहेकाले ‘व्यापार तथा पारवहन सम्झौता’ नवीकरण हुन सकिरहेको थिएन। 

भारत नेपालमाथि आर्थिक नियन्त्रण चाहन्थ्यो। त्यसैले ऊ यो सन्धि नवीकरण गर्न खोजिरहेको थिएन। उसले नेपालमा प्रजातन्त्र बहालीको कुरा उठाइरहेको थियो। २०१७ पुस १ मा राजा महेन्द्रले ल्याएको राजनीतिक परिवर्तनसँगै मुलुकमा फरक परिस्थिति उत्पन्न भएको थियो। नेपालको राजनीतिक परिवर्तनसँग भारत खुसी थिएन। भारत एक प्रकारले सुरुदेखि नै राजाको कदमको विरोधी रह्यो।

त्यस्तो असहज परिस्थितिमा राजा महेन्द्र र इन्दिरा गान्धीबीच एकान्तमा डेढ घण्टा वार्ता चल्यो। डेढ घण्टापछि राजा महेन्द्र रातो कान लगाउँदै बाहिर निस्किए। उनी क्रुद्ध थिए। गान्धी पनि कसैसँग हात नमिलाई रिसकै झोँकमा हिँडिन्। दुवैको अनुहार अध्ययन गर्दा लक्षण राम्रो देखिँदैनथ्यो। 

रिसले राता भएका राजा महेन्द्रले नेपाली प्रतिनिधिमण्डल समक्ष भने– ‘हामीप्रति यिनको धारणा राम्रो छैन। जति कडाइ सहनुपर्छ, आफ्नै जनतालाई दुःख सहन तयार गर्नुपर्छ। .....यस्ता अनेक दबाव आउँछन्, देखाजाएगा। हामी भारत भारत भनेर हिँडिरहनुपर्छ भन्ने म मान्दिनँ। म मरेपछि के हुन्छ, हेर।’

राजा महेन्द्र र भारतीय प्रधानमन्त्री इन्दिराबीच यस्तै घटना यसअघि पनि भएको थियो। २०२३ सालमा प्रधानमन्त्री इन्दिराको पहिलो नेपाल भ्रमण भएको थियो। त्यतिबेला कीर्तिनिधि विष्ट मन्त्रिपरिषदका उपाध्यक्ष र सूर्यबहादुर थापा अध्यक्ष थिए। सिंहदरबारको बेलायती बैठकमा पार्टी आयोजना गरिएको थियो। राजा महेन्द्रले प्रोटोकलले मिल्दैन भने पनि विष्टले राजालाई भारतीय प्रधानमन्त्रीको स्वागतका निम्ति राजी गराएका थिए।

त्यही बमोजिम राजा महेन्द्रको प्रतीक्षा गरिँदैथियो। तर प्रधानमन्त्री इन्दिरा पुगेको १० मिनेटपछि मात्र राजा आए। गान्धी ज्यादै हठी र रिसाहा स्वभावकी थिइन्, त्यस घटनालाई गान्धीले अपमानको रुपमा लिइन्। भ्रमणपछि दरबार र गान्धीबीच चिसोपना बढ्यो। त्यसको असर दुई देशबीचको कूटनीतिमा पनि देखियो। 

नेपालको जलस्रोतदेखि अन्य ठूलाखाले विकास योजना आफ्नो हातबाहिर जान नहुने र त्यसमा आफ्नो संलग्नता रहनुपर्ने भारतीय पक्षको कडा अडान थियो। नेपालले संयुक्त राष्ट्र संघको सहयोगमा कर्णाली आयोजनाको विस्तृत अध्ययन गराउँदै थियो। जापानीहरुले त्यसको अध्ययन गरेका थिए। चीनले पनि विकास पूर्वाधारमा राम्रै सहयोग गरेको थियो। नेपालले युरोप–अमेरिकासँग पनि सम्बन्ध बिस्तार गर्दै थियो। आफ्नो चाहना विपरीत नेपालले बाह्य विश्वसँग सम्पर्क र सम्बन्ध बढाइरहेको भारतलाई मन परिरहेको थिएन। दरबार बलियो हँुदै गएको उसलाई मन परेको थिएन। 

चिनियाँ पक्षको नेपालमा उपस्थिति गहिरो हँुदै गएको र यहाँबाट भारतउपर निगरानी हुनसक्ने आकलन इन्दिरा गान्धीको थियो। त्यसैले तराईमा भूमिगत रुपमा द्वन्द्व सिर्जना गराउने योजना भारतीयहरुको थियो। तराईमा एक किसिमको आतंक फैलाएर भारतीय सुरक्षा परिचालन कसिलो तुल्याउने खाका कोरिएको थियो। सिक्किमपछि भुटान र नेपाललाई भारतले आफ्नो भूभाग बनाउने हो कि भन्ने खतरा देखापरेको थियो। 

त्यतिबेला नेपालले ‘झिटीगुन्टा नीति’ अपनाएको थियो। त्यस नीति अन्तर्गत पार्सल पोस्ट, हवाई र स्थलमार्गबाट विदेशी मालसामान नेपाल आइरहेका थिए, विशेषगरी हङकङबाट। त्यसले भारतका बिहार र उत्तरप्रदेशका बजारभन्दा नेपाली बजार आकर्षक देखिन थालेका थिए। त्यो कुरा भारतले पचाइरहेको थिएन। 

भारतसँग एक किसिमको शीतयुद्ध चलिरहेको थियो। त्यसबेला नेपालमा भारतविरोधी भावना अत्यधिक थियो। त्यसको स्रोत दरबार नै भएको मानसिकता भारतले बनाएकोथियो। यस्तो असहजताकाबीच भारतले सन १९७२ मा नेपालमाथि नाकाबन्दी लगायो। ७ महिने यो नाकाबन्दीले निकै अप्ठेरो अवस्था सिर्जना गर्‍यो। हाहाकार मच्चियो।

२०४५ सालको नाकाबन्दी
माओवादी सशस्त्र युद्धकै बेला सरकारले बेल्जियमबाट हतियार खरिद गर्न चाहेको थियो। २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अर्कै ठाउँमा जाने भनेर हतियार खरिद गर्न बेल्जियम पुगेका थिए। भारतको आँखा छल्न यस्तो रणनीति अपनाइएको थियो। संवेदनशील सामग्री हवाईमार्गबाट ल्याउँदा पनि त्यसको सूचना भारतलाई दिनुपर्ने हुन्छ। तर भारतले गुप्तचरी माध्यमबाट थाहा पायो। उसले जहाज रोक्यो र प्रतिकार गर्न उत्रियो।  

त्यो जहाजमा परीक्षणका निम्ति केही हतियार ल्याइँदै थियो। भारतले रोकिदिएपछि बेल्जियमसँग हतियार खरिद नै हुन पाएन। त्यतिबेला भारत देउवाविरुद्ध खुला रुपमै खनिएको थियो। भारतको तर्क थियो– ‘ हामीभन्दा बाहिर नेपालले किन हेर्नुपर्‍यो।’ 

नेपालले तेस्रो देशबाट हतियार ल्याउँदा भारतले हस्तक्षेप गरेको यो पहिलो अवसर थिएन। वि.सं. २०४५ सालमा चीनबाट हतियार ल्याएको झोँकमा भारतले हामीमाथि आर्थिक नाकाबन्दी नै लगाइदिएको थियो। चीनबाट एन्टी एयरक्राफ्ट गनदेखि अन्य हतियार ल्याइएको थियो र ती हातहतियारलाई दरबार, हेटौँडालगायत चारपाँच ठाउँमा राखिएको थियो। त्यतिबेला पनि उनीहरुले सन १९५० को सन्धिलाई अगाडि तेर्स्याएर ‘भारतसँग परामर्श गरेर मात्र ल्याइनुपर्छ‘ भनेर अड्डी थापेका थिए। त्यही निहुँमा भारतले राजा वीरेन्द्रको शासन कमजोर तुल्याएको हो।

सन १९५० को सन्धिमा भारतले सल्लाह र सहयोग दिन नसक्ने परिस्थिति सिर्जना भएको खण्डमा मात्रै अरुसँग सहायता खोज्ने भन्ने प्रावधान थियो। तेस्रो देशबाट हतियार आयात गर्न भारतको सहमति चाहिन्छ भन्ने उल्लेख थियो। भारतले बाहिर देखाउन नेपालमा प्रजातान्त्रिक परिवर्तन खोजेको भन्ने सन्देश प्रवाहित गरिरहेको थियो। तर व्यावहारिक रुपमा नेपालको जस्तोसुकै राजनीतिक पद्धति होस्, उनीहरुको भित्री चाहना नेपालमा आफूले भने बमोजिम हुनुपर्छ भन्ने नै हो।

त्यतिबेला नाकाबन्दी लगाइनुका पछाडि अर्काे कारण पनि थियो। इन्दिरा गान्धीले आफू प्रधानमन्त्री हँुदा छोरा राजीव गान्धीलाई नेपाल भ्रमणमा पठाएकी थिइन। त्यतिन्जेल युवराजधिराज वीरेन्द्र र ज्ञानेन्द्रको राजीव गान्धीसँग निकट सम्बन्ध थियो। तर एउटा घटनाले यो मित्रता कटुतामा परिणत हुन गयो। 

सो भ्रमणमा इटालियन मूलकी भएकी कारण ‘गैरहिन्दूका नाताले’ सोनियालाई पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न दिइएको थिएन। त्यो घटनाले असामान्य स्थिति पैदा भएको थियो। त्यो सोनियाका निम्ति ठूलो बेइज्जतीको कुरा थियो। उनले अपमानबोध महसुस गरिन्। पशुपतिमा हिन्दूलाई मात्र प्रवेश दिइन्छ भन्ने अग्रिम जानकारी गराइएको भए त्यस्तो अवस्था नआउन पनि सक्थ्यो। दरबार र पञ्चायतले त्यस घटनाको मूल्य चुकाउनुपर्‍यो। २०४५ चैतमा भारतीय पक्षबाट भएको नाकाबन्दी त्यसैको परिणाम थियो। 

श्रीमती सोनियामाथि भएको अपमानको बदला प्रधानमन्त्री राजीव गान्धीले सार्क सम्मेलनको अवसरमा लिए। सार्क सम्मेलन हँुदा भारतीय प्रधानमन्त्री राजीवले समूहसमूह गरी ब्रेकफास्ट कार्यक्रम राखेका थिए। राजा वीरेन्द्र र भुटानी राजालाई एउटा समूहमा पारी ब्रेकफास्टमा बोलाइएको थियो। त्यसमा वीरेन्द्रले निकै खल्लो मान्दै भनेका थिए– ‘नेपाललाई भारतले भुटानीको दर्जामा राख्यो।’ त्यसबाट पनि राजीव र वीरेन्द्रको पुरानो मित्रतामा दरार आएको थियो। 

(माथिका प्रसंग ६ दशक शासन–प्रशासनको शीर्ष स्थानमा रही काम गरेका अर्थ र परराष्ट्र मामिलाका विज्ञ डा. भेषबहादुर थापाको मंगलवार बजारमा आएको पुस्तक  ‘राष्ट्र –परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ बाट लिइएका हुन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .