नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष बन्न सुझाव दिएका छन्।
गृहजिल्ला ताप्लेजुङमा आइतबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजेन्द्र लिङ्देनलाई राप्रपाको महामन्त्री बनाएर आफू अध्यक्ष बन्न सुझाव दिएका हुन्।
राजनीतिक अधिकार चाहिएको हो भने जस्केलाबाट छिर्ने कोसिस नगरी मूल ढोकाबाटै सक्रिय राजनितीमा आउन चुनौती दिँदै भट्टराईले भने, ‘राजेन्द्र लिङ्देनजीलाई महामन्त्री बनाएर ज्ञानेन्द्र शाह अध्यक्ष बने पनि भो त्यो पार्टी (राप्रपा) को।’
पूर्वराजा ज्ञानेन्द्र हिजो शनिबार मात्र झापामा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।
धार्मिक सहिष्णुता बिथोल्न, अराजकता मच्चाउन तथा राजनीतिक अस्थितरता निम्त्याउने काम नगर्न एमाले भट्टराई सचिवले पूर्वराजा शाहलाई चेतावनी दिएका छन्।
ज्ञानेन्द्र शाहका गतिविधिप्रति सरकारले जवाफ दिनुपर्ने भट्टराईको भनाइ छ।
‘ज्ञानेन्द्र शाहले गरेको गतिविधिप्रति सरकारको धारणा के हो, तथाकथित दुर्गा प्रसाईंलाई उचालेर काठमाडौँमा गरेको प्रदर्शनप्रति सरकारको धारणा के हो’, भट्टराईले भने, ‘राजतन्त्र फर्काउँछु भन्नेहरूप्रति सरकार के भन्छ? गणतन्त्र अन्त्य गर्छु भन्नेहरूप्रति प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ? हामी सरकारलाई सोधिरहेका छौँ।’
एमाले जिल्ला कमिटीले आइतबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने क्रममा एमाले सचिव भट्टराई गृहजिल्ला ताप्लेजुङ पुगेका हुन्।
Shares
प्रतिक्रिया