ad ad

राजनीति


संसद् र समिति सञ्चालन गर्न सरकारले बजेट नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

संसद् र समिति सञ्चालन गर्न सरकारले बजेट नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

नेपालखबर
मंसिर ११, २०८० सोमबार १६:५१, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन्।

सोमबार संसदीय समितिका सभापतिहरूसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारेमा सिंहदरबारमा छलफल गर्दै उनले यस्तो बताएका हुुन्। संसद् र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा.प्रकाशशरण महतले आग्रह गरेको सभामुख घिमिरेले बताए।

नियमित समय बाहेक बैठक राख्दा कर्मचारीलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरूले गरेको समेत सभामुख घिमिरेले बताए। विगतमा संसद्लाई विभिन्न विदेशी एवं दातृ निकायबाट सहयोग प्राप्त हुने भए पनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको घिमिरेले बताए।

‘विगतमा संसद्लाई सपोर्ट गर्नका लागि विदेशी संघसंस्थाहरूबाट पनि ठूलो मात्रामा सहयोग आएका थिए। किनभने नेपालमा भर्खर प्रजातन्त्र आएको थियो। गणतन्त्र आएको थियो। त्यसका क्रियाकलाप गर्नका लागि कहाँ के गर्नुपर्छ सहयोग भनेर धेरै आएका थिए। त्यसको आधारमा यहाँ केही सुविधाहरू, केही गतिविधि गर्न सपोर्ट थियो। राज्यले पनि यसमा ठिकै बजेट र लगानी गरेको थियो। अहिले आइपुग्दा सपोर्ट गर्ने हेण्ड्सहरू कतिपय हाम्रा लागि त्यति उपयुक्त भएनन्। कतिपय अब किन सपोर्ट गरिरहने भनेर गए,’ सभामुख घिमिरेले भने।

संसदीय गतिविधि अघि बढाउन आर्थिक पाटोलाई अर्थमन्त्री डा.महतले नियन्त्रण गरेको सभामुख घिमिरेको गुनासो छ। बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसद्लाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने घिमिरे बताउँछन्।

विगतका बैठकमा कर्मचारीहरूलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद् र संसदीय समिति चल्न कठिन रहेको सभामुख घिमिरेले बताए।

सभामुख घिमिरे संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै आवश्यक समिति सभापतिहरूले समन्वय गर्नुपर्ने बताउँछन्। कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न समिति सभापतिहरूलाई उनले निर्देशन दिए।

‘विषयवस्तु दोहोरिने र कार्यक्षेत्र एउटै पर्ने, एउटै विषयमा धेरैतिर उजुरी पर्ने र उजुरीपछि सबै लिने कुरालाई पनि अब हामीले बसेर समन्वय गर्ने, त्यो समन्वय गरिरहँदा सभापतिहरूमा कसले हेर्ने भन्ने हुनुपर्छ,’ घिमिरे भन्छन्, ‘काम गर्ने सन्दर्भमा केही नमिलेका भए त्यसलाई मिलाउनैपर्ने भयो, काममा बेमेल भयो भने छलफल गरेर निस्कर्षमा पुग्नुपर्छ।’

सभामुख घिमिरेले समिति बनेको ५ महिना बितिसक्दासमेत समितिको कार्यक्षेत्र स्पष्ट नभएकोमा आपसी समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .