ad ad

राजनीति


रुसबाट फर्केका नेपाली युवा भन्छन् : भयावह मृत्यु देखेपछि भागेँ

रुसी सेनामा नेपाली युवा कसरी भए भर्ती?
रुसबाट फर्केका नेपाली युवा भन्छन् : भयावह मृत्यु देखेपछि भागेँ

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १७:५५, काठमाडौँ

मस्कोस्थित नेपाली राजदूतावासका द्वितीय सचिव सुशील घिमिरेले परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागलाई ८ मंसिरमा एक पत्र पठाए। 

पत्रमा रुसी सेनामा भर्ना भएका प्रितम कार्की (पुतलीबजार–५, स्याङ्जा), राजकुमार रोका (मेलुङ– ६ दोलखा) र गंगाराज मोक्तान (इलाम–५, इलाम) को मृत्यु भएकाले यथाशीघ्र निजका परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको थियो। त्यसमा रुसी सेनाले उपलब्ध गराएको मृत्युसम्बन्धी मेडिकल रिपोर्टसमेत संलग्न थियो। 

रुसी सेनामा रहेका नेपालीहरु मारिएको कुरा त्यहाँको परराष्ट्र मन्त्रालयले औपचारिक तबरमा नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्ने हो। किनकि नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध छ, त्यसैले औपचारिक पत्राचारका लागि कुनै समस्या छैन। तर, पत्रको बेहोरा हेर्दा देखिन्छ– रुसी सेनाका अधिकारीहरुले टेलिग्राममार्फत् नेपाली दूतावासलाई उपरोक्त कुराको जानकारी गराएका हुन्। 

रुस-युक्रेन युद्ध सुरु भएसँगै रुसी सेनामा नेपाली युवाहरु भर्ती भएको, कतिपयको मृत्यु र कतिपय युक्रेनी सेनाको कब्जामा परेको समाचार त सार्वजनिक भएका थिए। तर, नेपाल सरकारले औपचारिक रुपमा यसबारे जानकारी प्राप्त गरेको थिएन। 

तर, नेपाली दूतावासलाई रुसी सेनाले गरेको यो पत्राचारसँगै रुसी सेनामा नेपालीहरु रहेको कुरा पहिलो पटक औपचारिक तबरमा पुष्टि भयो।

सन् १९४७ को त्रिपपक्षीय सन्धिका कारण बेलायत र भारतले तोकिएको संख्यामा नेपाली युवाहरुलाई आफ्नो सेनामा भर्ती गर्न पाउँछन्। तर, रुस–नेपालबीच सैन्य भर्तीसम्बन्धी कुनै सन्धि नभएको स्थितिमा नेपाली युवालाई रुसी सेनाले कसरी आफ्नो फौजमा भर्ती गर्‍यो? 

यो प्रश्नले मस्कोस्थित रुसी परराष्ट्र मन्त्रालयका साथै काठमाडौँस्थित रुसी दूतावासका अधिकारीहरु अप्ठेरोमा परेका छन्।  

जानकारी पाउनै कठिन 
स्रोतका अनुसार, आफ्नै परराष्ट्र मन्त्रालयलाई समेत जानकारी नगराई रुसी सेनाले हजारौँ विदेशी युवाहरुलाई आफ्नो फौजमा भर्ती गर्ने गरेको छ। युद्ध युक्रेनसँग भए पनि पृष्ठभूमिमा अमेरिका रहेकाले रुसी सैन्य अधिकारीहरुले यसलाई अमेरिकाले रुससँग लडेको छद्मयुद्धको रुपमा अथ्र्याउने गरेका छन् र फौज सम्बन्धी मामिलाबारे आफ्नै परराष्ट्र मन्त्रालयलाई विस्तृत जानकारी दिने गरेका छैनन्। 

मस्कोस्थित नेपाली राजदूतावासले जब परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्‍यो, यस सम्बन्धमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले काठमाडौँस्थित रुसी राजदूतावासका अधिकारीसँग जानकारी मागेका थिए। मस्कोस्थित नेपाली राजदूतावासले पनि रुसी परराष्ट्र मन्त्रालयसँग यसबारे बुझ्ने प्रयास गरेको थियो। 

‘तर, रुसी परराष्ट्र मन्त्रालयलाई विदेशी युवाहरुको भर्तीबारे रुसी सेनाले जानकारी गराउँदो रहेनछ, सैनिक अधिकारीहरुले भर्ती सम्बन्धी विषयलाई ‘युद्ध रणनीति’ का रुपमा अर्थ्याउँदै यस सम्बन्धी विवरण परराष्ट्र मन्त्रालयलाई दिँदा रहेनछन्,’ एक नेपाली अधिकारीले भने, ‘रुसी परराष्ट्र मन्त्रालयका अधिकारीहरु नै अनविज्ञ रहेकाले विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको छ।’  

मस्कोबाट नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालय (कन्सुलर सेवा विभाग) लाई पत्राचार गरेको पनि एक हप्ता बितिसकेको छ। तर, यस विषयमा परराष्ट्र मन्त्रालयले विस्तृत जानकारी गराएको छैन। परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि यस विषयमा औपचारिक रुपमा कुराकानी गर्न चाहँदैनन्। 

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपालीहरु रहेको र युद्धमा मारिएको सम्बन्धमा जानकारी संकलन गर्ने काम भइरहेको र विस्तृत जानकारी प्राप्त भएपछि नेपाल सरकारको धारणा सार्वजनिक गर्ने बताएका छन्। 

तर, रुसी परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित रुसी राजदूतावासले जनाउने अनविज्ञताका आधारमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु के बताउँछन् भने नेपालीहरु मारिएको घटना र रुसी सेनामा नेपालीहरुको भर्तीबारे खोजेजस्तो सूचना सहज रुपमा प्राप्त गर्ने स्थिति छैन। 

मस्कोस्थित राजदूतावासले गरेको पत्राचारमा उल्लेख भएका तीन नेपालीबाहेक अर्का एक नेपालीको यसअघि नै मृत्यु भइसकेको छ। २९ असारमा मृत्यु भएका उनी गोरखाका सन्दीप थपलिया हुन्। 

मृत्यु नै चार जनाको भइसकेको स्थितिमा सहज अनुमान के गर्न सकिन्छ भने रुसी सेनामा भर्ती हुनेहरुको संख्या उल्लेख्य छ। 

अमेरिका लगायत पश्चिमी मुलुकहरुको सहयोग पाएको  युक्रेनसँगको युद्ध कहिलेसम्म लम्बिने हो, स्वयं रुस आफैसमेत अनुमान गर्न नसक्ने स्थितिमा छ। युद्ध जति लम्बिन्छ, युद्धमा खटिने जनशक्ति आवश्यकता पनि बढ्दै जान्छ। 

यही आवश्यकता पूर्ति गर्न रुसले अन्य मुलुकका युवाहरुलाई पनि आफ्नो सेनामा भर्ती गर्ने नीति लिएको छ। रुसको प्राथमिकतामा पूर्व सोभियत गणराज्यका युवाहरु पर्ने गरेका छन्। पूर्व सोभियत गणराज्यका बाहेक अन्य मुलुकका युवाहरुलाई पनि रुसी सेनाले भर्ती गर्ने गरेको छ र यसको सहयोगी नेपालका म्यानपावर दलालहरु बनेका छन्। 

‘त्यस्ता दलालहरुले नेपाली युवाहरुलाई रुस समेत पुर्‍याउने गरेका छन्। दलालहरुमार्फत् मस्को पुर्‍यााइने उनीहरुलाई रुसी सेनाले गोप्य रुपमा भर्ती गर्ने गरेको रहेछ,’ जानकार स्रोतले भन्यो, ‘अवैध मार्गबाट अमेरिका–युरोपमा नेपाली लैजाने गिरोहले नै नेपाली युवाहरुलाई रुस लैजाने गरेको देखिन्छ। अमेरिका भन्दा आकर्षक आम्दानीको लोभ देखाएर उनीहरुलाई रुस पुर्‍याइँदो रहेछ।’ 

भयावह मृत्यु
यस्तै आकर्षक आम्दानीको आशामा गत असोजमा मस्को (रुस) पुगेर फर्केका काभ्रेका एक युवाले नेपालखबरलाई जानकारी गराए अनुसार रुसी सेनामा भर्ती हुने नेपालीहरुलाई रुसी सेनाले युक्रेनसँगको युद्धको अग्रमोर्चामा पठाउने गरेको छ। उनीहरुलाई काठमाडौँबाटै सेटिङ मिलाएर मस्को पुर्‍याउने गरिन्छ। 

‘मेरो हकमा भन्नुपर्दा, ‘रुसी सेनाले कब्जा गरेको ठाउँमा सुरक्षा ड्युटी गर्ने काममात्र हो, कुनै खतरा हुँदैन’ भनेर रुस पुर्‍याइएको थियो’ उनले भने, ‘रुस जाने भन्दा अध्यागमनमा सोधीखोजी हुने भएकाले दलालहरुले विमानस्थलमा नै सेटिङ मिलाएका हुँदा रहेछन्।’ 

मस्को पुगेपछि उनलाई त्यहाँस्थित नेपाली दलालले नै पहिलो क्याम्पमा पुर्‍याएका थिए। त्यहाँ युद्धबाट फर्केका केही नेपाली युवाहरुसँग उनको भेट भयो। 

‘उनीहरुसँगको कुरा सुन्दा पो वास्तविकता थाहा भयो– विदेशी युवाहरुलाई सबैभन्दा खतरानाक युद्धस्थलको अग्रमोर्चामा पठाइँदो रहेछ,’ उनले थपे, ‘भर्ती भएका विदेशीहरुले क्लियर गरेपछि रुसी सेना पछि–पछि जाँदा रहेछन्। फौजमा रहेका आफ्ना नागरिक सकभर नमरुन् भन्ने रुसी सेनाको नीति रहेछ।’  

मस्को पुगेपछि उनलाई एउटा होस्टेलमा राखिएको थियो, त्यहाँ उनी आफैले खाना पकाउनु पथ्र्याे। पर्सिपल्ट उनलाई अर्काे क्याम्पमा तालिमका लागि लैजाने योजना थियो। 

‘होस्टेलमा आफै खानेकुरा पकाउनु पर्ने भएकाले आवश्यक सामग्री किन्न पसलमा गएको थिएँ, त्यसैक्रममा युद्धबाट फर्केका एकजना नेपाली युवा भेट भए,’ उनले भने, ‘म पनि नेपाली हुँ भन्ने जानकारी पाएपछि उनले वास्तविकता बताए। उनीहरुले सुनाएको विवरण भयावह थियो।’

युद्धस्थलको वास्तविकता सुनेपछि र केही भिडिओमा देखेपछि उनले त्यहाँबाट भाग्ने निर्णय गरे। धन्न, उनको राहदानीमा खाडी मुलुकको पनि भिसा थियो। त्यसैले फर्कन सजिलो भयो।

उनका भनाइमा भर्ती हुन गएका नेपाली युवाहरुलाई केही दिन क्याम्पमा राखेर युद्धक्षमताको परीक्षण गरिन्छ। त्यसक्रममा सुरुङ (ट्रेन्च) खन्ने, हतियार चलाउने, घाइते सैनिकहरुलाई कसरी सुरक्षित गराउने लगायतका प्रशिक्षण दिइन्छ। 

‘सेना–प्रहरीमा काम गरिसकेकाहरु उपरोक्त कुरामा पारंगत हुन्छन्, त्यसैले उनीहरु दुई हप्तापछि नै युद्धमोर्चामा पठाइँदा रहेछन्,’ उनले थपे, ‘गैर–सैनिकका हकमा २–३ महिनासम्म तालिम दिइँदो रहेछ।’ 

मस्को पुगेका उनले रुसी फौजमा भर्ती हुने योजना त्याग्नुको मुख्य कारण भने ती नेपाली युवाले देखाएको एउटा भिडिओ थियो, जसले यस्ता भाडाका घाइते सैनिकहरुलाई कस्तो व्यवहार गरिन्छ भन्ने कुरा प्रष्ट पार्थ्यो। 

‘युद्धमा मर्ने मरिहाल्दा रहेछन्, घाइतेहरु घिस्रेर सुरक्षित ठाउँमा आए भने बाँच्दा रहेछन्, युद्धस्थलमै घाइते छन् भने ट्याङ्कले कुल्चेर समेत मारिदिने रहेछन्,’ उनले भने, ‘त्यसपछि डोजरले खनेको खाल्डोमा उनीहरुलाई पुरिने रहेछ। घटनास्थलको यस्तो भिडिओ नै देखेपछि म नेपाल फर्कने निर्णयमा पुगेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .