वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप-२८ सम्मेलनमा नेपालले उठाएका एजेन्डाले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताएका छन्।
सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन र नेपालले उठाएका एजेन्डाले विश्वको ध्यान खिचेको खरालले बताए।
सचिव खरालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र त्यसले पारेको सकारात्मक प्रभावका कारण पनि कोप-२८ मा नेपालको उपस्थिति र प्रस्तुति सशक्त बन्न पुगेको बताए।
जलवायु परिवर्तनका कारण नेपालले बेहोरिरहेको हानिनोक्सानीवापत न्यायमा आधारित भएर आर्थिक सहायता उपलब्ध गराउने कुरामा नेपालले सशक्त ढंगले आफ्नो प्रस्तुति दिएको खराल बताउँछन्। यसैक्रममा जलवायु परिवर्तनका कारण हिमाली मुलुकले बेहोरेको हानिनोक्सानीबारे विश्वलाई बताउन नेपालले हिमाली मुलुकहरूको सम्मेलन आयोजना गर्न लागेको खरालले बताए।
यतिखेर दुबईमै रहेका खरालले सम्मेलनकै क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूलाई उक्त निर्देशन दिएको र काठमाडौँ फर्कनेबित्तिकै सो कामको तयारी तीव्रताका साथ अघि बढाउने बताए।
‘सम्माननीयज्यूले एउटा निर्देशन दिएर जानु भएको छ– माउन्टेनियस कन्ट्रीहरूको एउटा गोलमेच सम्मेलन गर्ने। त्यसको लागि पनि हामीले नेपाल गएर माउन्टेनको आवाजलाई एकताबद्ध गरेर लैजाने गरी माउन्टेनियस देशहरूको गोलमेच सम्मेलनको तयारी गर्नुपर्नेछ। त्यो काम हामी गर्छौँ।’
समान परिवेश भएका देशहरूको समूह बनाएर आवाज नउठाएसम्म जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नेपालले पाउनुपर्ने वित्तीय सहयोग पाउन कठिन रहेकोले उक्त पहल गर्न लागिएको हो।
धेरै प्रभावशाली देशहरूले एकल प्रयासबाट सहायता पाउन सफल भए पनि आर्थिक अवस्था कमजोर भएका देशका लागि एकताबद्ध भई आवाज उठाउनुपर्ने आवश्यकता महसुस गरी सम्मेलन आयोजना गर्न खोजिएको हो।
समान परिवेश भोगिरहेका देशलाई एकताबद्ध बनाएर मेहनत नगर्ने हो भने अवस्था चुनौतीपूर्ण रहेकोले यस्तो काम गर्नैपर्ने अवस्था रहेको खराल बताउँछन्।
सचिव खरालले नेपालले आगामी दिनमा पनि जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायबाट लिने आर्थिक सहायताका लागि चनाखो भएर अघि बढ्नुपर्ने बताए।
Shares
प्रतिक्रिया