मध्यपहाडी राजमार्गकेन्द्रित नेकपा एमालेको महाकाली–मेची यात्रा नुवाकोट आइपुगेको छ।
यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु एमालेको यात्रा शनिबार राति करिब १० बजे नुवाकोटको बट्टार आइपुगेको हो।
यसैबीच यात्राका नेतृत्वकर्ता एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति बाटो भुलिएको बताएका छन्।
रातका कारण बाटो भुलिँदा कटुञ्जेमा यात्रामार्गमा स्वागतका लागि भेला भएका स्थानीयसँग भेट हुन नसकेको उनले उल्लेख गरेका छन्।
‘बट्टार नुवाकोटबाट शुभ बिहानी! हिजो (शनिबार) सल्यानटारबाट नुवाकोटको लागि यात्रा अघि बढ्दा रात छिप्पिइसकेको थियो। हामी धादिङको चरङ्गेबाट कटुञ्जे हुँदै बट्टार आउनुपर्नेमा बाटो भुलेर अर्कै मार्गबाट बट्टार आइपुग्यौँ’, अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कटुञ्जेमा यात्रामार्गमा स्वागतमा बस्नुभएका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुन सकेन। उहाँहरूसँग क्षमा चाहन्छु। यो यात्रा सकिएपछि हामी कटुञ्जे आउने छौँ।’
बट्टारमा राति करिब १० बजे सुरु भएको सभालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका थिए।
एमालेका नेता, कार्यकर्ता तथा समर्थकहरू शनिबार बिहानैदेखि यात्रा टोलीको स्वागतमा प्रतीक्षारत थिए।
राति भइसक्दा पनि ठूलो उपस्थितिबाट एमाले नेतृत्व उत्साहित देखिएको छ।
त्यहाँ अध्यक्ष ओलीलाई भव्य स्वागत गरिएको थियो।
एमाले महासचिव शंकर पोखरेलले सभाका तस्बिर फेसबुकमा राखेर लेखेका छन्, 'बेजोड धैर्य, अभूतपूर्व सहभागिता र भविष्यप्रतिको भरोसा। नेतृत्वप्रति असीम विश्वास। बधाई छ राति ९:४० बजे कार्यक्रममा सहभागी सबैलाई...।'
एमालेको यात्रा ताप्लेजुङको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।
यसअघि एमालेले संगठनलाई चलायमान बनाउने उद्देश्यले मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो।
Shares
प्रतिक्रिया