नेपाली कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताएका छन्।
आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उल्लेख समेत गरे। अहिले केही राजनीतिक दलहरू मिसन २०८४ भनेर हिँडिरहेको भएपनि कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए।
‘आज नेपालको राजनीतिमा सुशासनको खडेरी परेको छ। त्यस कारणले गर्दा अब नेपाललाई फेरि सुशासनमा पु¥याउन, सुशासनको रोडम्यापमा ल्याउन जरुरी छ। आज हामी एक प्रकारले दिक्क पनि भइसकेका छौँ। जति सफा गर्न खोज्यो उति नै फोहोर, जति फाइल खोल्दै गयो, उति नै फोहोरमात्र देखिन्छ, अफ्ठ्यारो छ नि। त्यसकारले गर्दा पनि नेपाली काँग्रेसले लिने बाटोको सन्दर्भमा सुशासन नै हो। अहिले कता कता सुन्छु नि म, मिसन २०८४। तर म भन्छु मिसन सुशासन नै हो, मिसन समुन्नत नेपाल नै हो नेपाली कांग्रेसका लागि। हामीले विचार प्रधान बनाएर लैजानुपर्छ,’ उनले भने।
उनले कांग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने पनि बताए। चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको पनि उनले बताए।
‘चुनावमा जिताइदेउ भन्ने मात्रै मिसन होइन हाम्रो। चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा मात्रै न देश बिग्रिएको छ। अहिले नेपाली राजनीतिमा जुन ढंगबाट विचार भन्दा पनि अरु नै चिज प्रधान बनेर आएका कारणले गर्दा पनि नेपाली राजनीतिमा सानातिना उथलपुथलका झिल्काहरु देखिन थालेका छन्। हामी सुध्रिन आवश्यक छ,’ उनले भने।
उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको पनि बताए।
Shares
प्रतिक्रिया