नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो नेतृत्वको समूहमा कुनै समस्या नरहेको बताएका छन्।
महामन्त्री गगनकुमार थापासँग मतभेद बढेको चर्चा भइरहेका बेला बुधबार अनुपम फुडल्यान्डमा बसेको बैठकपछि बोल्दै उनले यसो भनेका हुन्।
‘यो हाम्रो नियमित बैठक हो, केही महिनादेखि बस्न सकेको थिएन। हामीले त्यति धेरै चिन्तित हुनुपर्ने छैन’, उनले भने, ‘छलफल नहुँदा केही कुरा आएका थिए। तर, मिडियामा भने जस्तो हाम्रो समूहमा कसैसँग कुनै मतभेद र विवाद छैन।’
पत्रकारहरूले आन्तरिक रुपमा छलफल हुन छाडेकोबारे प्रश्न उठाउँदा उनले उल्टै सञ्चारमाध्यमहरूमा समस्या रहेको जवाफ दिए।
‘समस्या तपाईंहरूमा छ। नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन’, उनले भने, ‘यो नियमित छलफल हो। यसलाई लिएर विवाद भएको, मतभेद बढेको भनेर टिप्पणी गर्नुको औचित्य छैन।’
कोइरालाले त्यसक्रममा नेपाली कांग्रेस र देशको अवस्था ठीक नरहेको पनि बताए। ‘अहिले नेपाली कांग्रेस र देश दुवै ठीक रुपमा चलेका छैनन्’, उनले भने, ‘तर हाम्रो समूह ठीक रुपमा चलेको छ।’
बैठकमा महामन्त्री गगन थापाले सम्वाद नहुँदा असमझदारी बढेको बताएकोप्रति लक्षित गर्दै कोइरालाले एजेन्डामा कुनै मतभेद नरहेको पनि उल्लेख गरे।
‘पहिले पनि त्यस्तो कुनै समस्या थिएन। म र गगनजीबीच एजेन्डामा कुनै पनि फरक मत छैन। बैठक हिजो गर्ने भनेको महामन्त्री थिएनन्’, उनले भने, ‘त्यहीकारण आज हामी जुटेका हौँ।’
पत्रकारहरूले थापाको भनाइ निकाल्दै सल्लाह भएन भनेकोबारे कोइरालालाई अर्को प्रश्न गरे। त्यसैगरी एकलौटी रुपमा बैठक बोलाएकोबारे पनि पत्रकारहरूले सोधेपछि कोइरालाले आफ्नो बचाउ गरे।
‘एजेन्डामा म र महामन्त्री (गगन थापा) बीच एक इन्च पनि फरक छैन’, उनले भने, ‘उहाँको उमेर र मेरो उमेर फरक छ। उहाँको सोचाइ र मेरो सोचाइ फरक छ। त्यसले मात्रै हो।’
Shares
प्रतिक्रिया