ad ad

राजनीति


पार्टी सभापति देउवा एउटा समूहको संरक्षक मात्रै भए : महामन्त्री थापा

पार्टी सभापति देउवा एउटा समूहको संरक्षक मात्रै भए : महामन्त्री थापा

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २७, २०८० बुधबार १७:९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई एउटा गुटको संरक्षकको संज्ञा दिएका छन्। 

बुधबार अनुपम फुडल्यान्डमा बसेको बैठकपछि बोल्दै थापाले देउवाको कार्यशैली सुधार्न अझै दबाबको आवश्यकता रहेको पनि बताएका छन्। 

थापाले पार्टीले प्रतिनिधित्व गर्ने हरेक ठाउँमा मापदण्ड नबनाई एकलौटी निर्णय गरिँदा नेता कार्यकर्तालाई अन्याय भएको पनि बताए। 

‘हामीले अहिलेसम्म मापदण्ड बनाउन सकेका छैनौँ। पार्टीमा एकदमै अन्याय भएको छ। पार्टीका सभापतिले सबैलाई न्यायपूर्ण व्यवहार गर्नु भएको छैन’, उनले भने, ‘पार्टी सभापति आफैं एउटा समूहको संरक्षक भएका छन्। आफ्नो समूहलाई हेर्ने र अर्कोलाई हेर्ने नजर नै अर्को छ।’

थापाले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभाको निर्वाचनमा मापदण्ड चाहिने बताए। ‘राष्ट्रियसभा र संविधानको स्पिरिट अनुसारकालाई हामीले पठाउनुपर्छ। त्यसका लागि मापदण्ड चाहिन्छ’, थापाले भने, ‘यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्ने होइन, सभापति गुटको कांग्रेसको सभापति हुनुपर्छ।’

थापाले महासमितिको बैठक पूर्वनिर्धारित समयमै हुनुपर्ने बताए। ‘महासमिति बैठकले सांगठनिक र राजनीतिक कुरामा दिशानिर्देश गर्नुपर्छ’, उनले भने, ‘महासमिति सार्ने कुरा उचित होइन। हामीले आज पनि निर्धारित समयमै हुनुपर्ने धारणा बनाएका छौँ।’

थापाले आन्तरिक व्यवस्थापनलाई गुट व्यवस्थापनका रुपमा नबुझ्न आग्रह गरे। ‘आन्तरिक व्यवस्थापन भनेको यो समूहमा पनि व्यवस्थापन पनि सही रुपमा हुन सकेको छैन’, थापाले भने, ‘न्यायपूर्ण रुपमा पार्टी सभापतिले निर्णय गर्नुपर्ने भन्ने हाम्रो भनाइ हो।’

उनले नेता शेखर कोइराला र आफूबीच संवाद नहुँदा समस्या भएको बताए। ‘हाम्रोबीचमा संवादको एकदमै ठूलो कमी भयो। समूहमा एकअर्कामा र सांसदहरूबीच हुने संवाद कमी भयो’, थापाले भने, ‘संवाद कमी भएपछि असमझदारी हुन्छ, यसैगरी बस्ने कुरालाई नियमित बनाऊँ भनेका छौँ।’

उनले शेखर र आफूबीच विषयलाई हेर्ने नजर र दृष्टिकोण फरक हुन सक्ने बताए। ‘हाम्रा नजर फरक हुन्छन्। विषयलाई हेर्ने दृष्टिकोण फरक हुन्छन्। कम छलफल हुँदा समस्या भएका हुन्। राजनीतिक दृष्टिकोण एउटा छ। थप बस्दै जाने कुरा भएको छ’, उनले भने, ‘यो समूहमा पनि व्यवस्थापन पनि सही रुपमा हुन नसकेको कुरा आएको छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .