ad ad

राजनीति


खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न अनेरास्ववियूको माग

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न अनेरास्ववियूको माग

अनेरास्ववियुकी अध्यक्ष आरती लामा


नेपालखबर
मंसिर २८, २०८० बिहिबार ७:३१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरेको छ। 

अनेरास्ववियूकी अध्यक्ष आरती लामाले प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय लामो समयदेखि निमित्त उपकुलपतिको भरमा सञ्चालन हुनु लज्जाजनक विषय भएको बताएकी छन्। 

गएको कात्तिक २० गते नै सरकारले उपकुलपति चयनका लागि शिक्षामन्त्रीको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो। 

‘तर, हालसम्म त्यसको बैठकसमेत बस्न नसकेको सुन्दा सरकारी उदासिनताले चरम सीमा नाघेको प्रमाणित भएको छ,’ अध्यक्ष लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम रिक्त रहेको उपकुलपतिको पद तत्काल खुला प्रतिष्पर्धामार्फत पूर्तिगरि दैनिक कार्य सञ्चालन अविलम्व सहज बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ।’ 

विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालय लामो समयदेखि निमित्त उपकुलपतिको भरमा चलिरहेको विषयले निकै चिन्तित तुल्याएको उल्लेख छ।

‘देशभरीका हजारौं क्याम्पसहरुको नेतृत्वदायी संस्था त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन हुनुले यहाँको दैनिक कार्य सञ्चालन कसरी सम्पादन भइरहेको होला? शिक्षा क्षेत्रका समस्त सरोकारवालाहरुका लागि यो अत्यन्त ज्वलन्त प्रश्न हो,’ विज्ञप्तिमा भनिएको छ।

उपकुलपतिको चयन गर्ने प्रक्रियामा राजनीतिक भागबण्डा हुनु र भागबण्डा नमिल्दा उपकुलपति नियुक्ति प्रक्रिया ढिलो भइरहेको भनेर आइरहेका समाचारले विद्यार्थीलाई लज्जित बनाएको अनेरास्ववियूको ठम्याइ छ। ‘शैक्षिक क्षेत्रमा व्याप्त यस्ता विसंगति समाजवादी शिक्षा प्राप्तीका लागि बाधक बनिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ

‘पछिल्लो समय सरकारी तथा सार्वजनिक विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दै जानु, विदेश पलायन बढ्नु र देशभित्र बेरोजगारी समस्या चुलिनुको पछाडि मुलुकको शैक्षिक क्षेत्र भित्रको अनियमितता, ढिलासुस्ती, अपारदर्शिता र कामचोर प्रवृत्ति प्रमुख कारण हुन् भन्नेमा दुई मत देखिँदैन,’ अनेरास्ववियूले भनेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .