पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामै राखिरहे उनको राजनीतिक करिअर सकिने बताएका छन्।
खाणको मुद्दामा बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भएको अन्तिम सुनुवाइका क्रममा खातीले यस्तो बताएका हुन्।
उनले यसअघि गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र शेरबहादुर देउवालाई पनि मुद्दा लागेको बताउँदै तर एउटा अभियोगकै कारण कसैको राजनीतिक करिअर सक्न नहुने बताए।
‘हिजो मुद्दा त गिरिजाप्रसाद, शेरबहादुर र गणेशमानलाई पनि लागेको थियो’, उनले भने, ‘बालकृष्ण खाणलाई थुनामा राखिरहँदा उहाँको राजनीतिक करिअर सकिन्छ, त्यसको क्षतिपूर्ति कसले दिन्छ?’
खातीले मुद्दाको अन्तिम किनारा लगाउने क्रममा ठहरिए बमोजिम गर्ने गरी अहिलेलाई रिहा गर्नुपर्ने जिकिर गरे।
‘पछि (अन्तिम निर्णय हुँदा) दोषी ठहरिए थुनामा पठाउँदा हुन्छ’, उनले भने, ‘तर एउटा राजनीतिक जिम्मेवारीमा भएको व्यक्तिलाई अहिले थुनामा राखिरहनु पर्दैन।’
Shares
प्रतिक्रिया