ad ad

राजनीति


प्रदेश सांसद शर्मालाई जन्मकैदपछि लोसपामा तरंग, सरकार छाड्न दबाब

प्रदेश सांसद शर्मालाई जन्मकैदपछि लोसपामा तरंग, सरकार छाड्न दबाब

फाइल तस्बिर


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १७:५३, काठमाडौँ

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहितका नेता कार्यकर्तालाई जन्मकैद तोकिएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा तनाव बढेको छ।

संघदेखि मधेश प्रदेशसम्म सत्ता गठबन्धनमा जोडिएको लोसपाको नेतृत्वलाई नेता कार्यकर्ताले सरकार छाड्न दबाब बढाएका हुन्। विक हत्या प्रकरणमा नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाउँदा लोसपासँग जोडिएका केही नेता कार्यकर्तालाई जन्मकैद भएको छ।

आफ्ना नेता कार्यकर्ताविरुद्ध अदालत विभेदकारी भएको निष्कर्षसहित लोसपाले आन्दोलन पनि थालेको छ। राजनीतिक मुद्दासहितको मधेश आन्दोलनका क्रममा भएको घटनालाई आपराधिक बनाउने कुरा स्वीकार्न नसकिने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो दुवैले शुक्रबार विज्ञप्ति निकालेर बताइसकेका छन्। 

सरकारबाट बाहिरिने दबाबबीच लोसपा आन्दोलित भइसकेको छ। उसले ठाकुरकोसमेत चुनाव क्षेत्र रहेको महोत्तरीमा शुक्रबार विरोधका कार्यक्रम राखेको छ। 

शुक्रबार प्रदर्शन गरेपछि आन्दोलन अघि बढाउनेबारे शीर्ष नेताहरूले थप निर्णय लिने भएका छन्। महोत्तरी जिल्ला अदालतको फैसलालाई विभेदकारीको संज्ञा दिएका वरिष्ठ नेता महतोले अध्यक्ष ठाकुरलाई आन्दोलन घोषणा गर्न भनिसकेका छन्। 

त्यसअघि नै लोसपा महासचिव अनिल महासेठले कडा शब्दसहितको विज्ञप्ति निकाल्दै अदालतको निर्णयको चर्को आलोचना गरेका थिए। 

‘अदालतको निर्णयपछि पार्टीले सबभन्दा पहिला सबै तहको सरकारबाट समर्थन फिर्ता लिनु पर्छ,’ महासेठले भने, ‘विगतमा पनि तत्कालीन राजपा पार्टी हुँदा रेशमलाल चौधरीबारे कैलाली जिल्ला अदालतको दुर्भाग्यपूर्ण फैसलापछि तत्कालीन सरकारबाट समर्थन फिर्ता लिएको नजीर छ।’ 

उनले पहिला आफ्नो पार्टी सरकारबाट फिर्ता भएमात्र समान विचार भएका अन्य पार्टी र शक्तिसँग यस प्रकरणमा सहकार्य हुन सक्ने बताएका छन्। 

लोसपाका अध्यक्ष ठाकुरले पनि वक्तव्य निकालेर महोत्तरी जिल्ला अदालतले अभिरामलाई जन्मकैद सुनाएको कुरामा गम्भीर असहमति जाहेर गरेका छन्। 

‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आत्मा हो। न्यायालयप्रति उच्च सम्मान प्रकट गर्दै महोत्तरी जिल्ला अदालतको उक्त फैसलाप्रति हाम्रो गम्भीर असहमति रहेको जनाउँछौँ’, उनले भनेका छन्। 

उनले मधेश आन्दोलन राजनीतिक अधिकारको लडाइँ भएको पनि बताएका छन्। संघर्षका बेला भएको मृत्युको घटना दु:खद भए पनि त्यसलाई गलत रुपमा निर्दोष फसाउने गरी राजनीतिक पूर्वाग्रह साँधिएको बताएका छन्। 

लोसपानका नेताहरूले किटानी जाहेरी परेका एमाले सांसद् कोइरीलाई छाड्दा आफूहरुले आपत्ति नजनाएको पनि बताएका छन्। तर एकै मुद्दामा आफ्ना नेतालाई भने जन्मकैद गरेकोमा उनीहरूले रोष प्रकट गरेका छन्। 

लोसपा नेताहरूले यसबारे तत्कालै सरकारको नेतृत्वसँग कुरा राख्न पनि अध्यक्ष ठाकुरलाई सुझाएका छन्। लोसपा नेताहरूले अदालतको यो निर्णयपछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले मधेश आन्दोलनका बेला दायर सबै मुद्दा फिर्ता हुनुपर्ने माग पनि राखेका छन्। 

बिहीबार मात्रै एमाले सांसद कोइरीलाई सफाइ दिएको महोत्तरी जिल्ला अदालतले मधेशमा लोसपा संसदीय दलका नेता अभिराम शर्मालाई जन्मकैद सुनाएको थियो। उता  सञ्जय साह,  प्रदीप साह माझी, शंकर साही, धर्मेन्द्र राय र सुरेश पाण्डेयलाई जन्मकैद तोकिएको छ। 

यो प्रकरणमा लोसपा सांसद शर्मा पुर्पक्ष हुँदा साधारण तारेखमा छुटेका थिए। जलेश्वर नगरपालिकाका तत्कालीन मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई पनि अदालतले तारेखमा छाडेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .