सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले पुष्पकमल दाहाल प्रचण्डको सुशासन अभियान अलपत्र परेको बताएकी छन्।
मंगलबार बसेको संघीय संसद् राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नका क्रममा उनले सरकारको आलोचना गरेकी हुन्।
प्रधानमन्त्री दाहालले शपथ लिँदा सुशासन कायम गर्छु भनेको स्मरण गराउँदै उनले अहिले काण्ड ढाकछोप गर्दा गर्दै भ्याइ नभ्याइ भएको बताइन्।
‘प्रधानमन्त्रीले सरकारमा जाँदा सुशासन कायम गर्छु भन्नु भएको थियो। तर अहिले एउटा काण्ड ढाक्न अर्को काण्ड ल्याउनुपर्न बाध्यता आएको छ। काण्डै काण्डले सरकारलाई छोप्न थालिसकेको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल पनि ढुक्कसँग तस्करी गर्ने अखडा भएको छ। तस्करहरू जिउभरी सुन बोकेर आउन थालेका छन्।’
सांसद न्यौपानेले एनसेल खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री दाहालका परिवारको नाम पनि जोडिएको भन्दै स्पष्ट जवाफ माग गरिन्।
‘यो काण्डको अन्तिम टुंगोमा पुग्दा वास्तविकता थाहा पाउनुपर्यो’, उनले भनिन्, ‘सरकारको जानकारीबिना एनसेल जस्तो कम्पनी बेचिएछ। तर प्रधानमन्त्रीले कसरी थाहा पाउनु भएन? बिक्री भइसकेपछि मात्रै थाहा पाउने यो अचम्म भयो।’
Shares
प्रतिक्रिया